धनगढी। धनगढी उपमहानगरपालिकाले माघ ५ गतेदेखि सञ्चालन गर्न लागेको सिप तथा रोजगार मेलाको तयारी तीव्र रूपमा अगाडि बढाएको छ। गत वर्षदेखि सुरु गरिएको यो मेला यस वर्ष अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित आयोजना हुन लागेको हो। मेलामा सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट सहभागिता रहनेछ। एक महिनासम्म सञ्चालन हुने सिप तथा रोजगार मेलामार्फत विभिन्न सिप विकाससम्बन्धी तालिम प्रदान गरिनेछ, जसले युवायुवतीहरूलाई रोजगारी प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ। मेला धनगढी उपमहानगरपालिका–१ स्थित खुला मञ्चमा आयोजना हुनेछ।
धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराका अनुसार सिप तथा रोजगार मेलाका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहबाट ३ हजार ८ सय २ जनाले आवेदन दिएका छन्। हाल आवेदक छनोटका लागि अन्तर्वार्ता प्रक्रिया जारी रहेको उहाँले जानकारी दिनुभयो। यस वर्ष मेलाअन्तर्गत ७ वटा क्षेत्रका २२ प्रकारका सिपमूलक तालिम सञ्चालन गरिनेछ। प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनोट गरिनेछ भने कुल ६ सय जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको छ। तालिमहरू बिहानको सिफ्टमा बिहान ८ बजेदेखि दैनिक ६ घण्टा सञ्चालन हुनेछन्। आवेदकहरूमध्ये सबैभन्दा धेरै आकर्षण एड्भान्स ब्युटिसियन तालिमतर्फ देखिएको संयोजक महराले बताउनुभयो।
आवेदन दिनेहरूमध्ये करिब २ हजार २ सय महिला, करिब १५ सय पुरुष तथा बाँकी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका आवेदक रहेका छन्। सबैभन्दा धेरै आवेदन धनगढी उपमहानगरपालिका क्षेत्रबाट परेको जनाइएको छ, जसले स्थानीयस्तरमै सिप र रोजगारीप्रति बढ्दो चासो देखाएको छ। धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सबै स्थानीय तहका आवेदक समेटिने गरी निष्पक्ष र पारदर्शी छनोट प्रक्रिया अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार गत वर्ष तालिम लिएका सहभागीहरूमध्ये करिब ५० प्रतिशतले रोजगारी प्राप्त गरेका थिए, जसले यस वर्ष कार्यक्रमलाई अझ प्रभावकारी बनाउने हौसला दिएको छ।
तालिमको अवधि ३० दिनको हुनेछ। त्यसपछि रोजगारीमा जान इच्छुक सहभागीहरूका लागि थप १० दिनको रोजगार परामर्श कार्यशाला सञ्चालन गरिनेछ। साथै, आफ्नै पेशा वा व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उद्यमशीलता विकास तालिम पनि प्रदान गरिनेछ। तालिम पश्चात् रोजगारदाता सम्मेलन आयोजना गरिनेछ, जसबाट प्रशिक्षार्थीहरू र दक्ष जनशक्ति आवश्यक परेका विभिन्न संस्था तथा कम्पनीबीच प्रत्यक्ष समन्वय गराइनेछ।
हाल मेला स्थलमा टेन्ट व्यवस्थापन, तालिम कक्ष निर्माण, दर्ता कक्ष, सूचना डेस्क, विद्युत् तथा सरसफाइ व्यवस्थापनलगायत भौतिक तथा प्राविधिक तयारीका काम तीव्र रूपमा भइरहेको उपमहानगरपालिकाले जनाएको छ। आयोजकका अनुसार मेला सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको छ।

