कैलाली। सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा आइतबार धनगढीमा सम्पन्न भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित सम्पन्न सभाको सभापतित्व संस्थाका अध्यक्ष दिर्घराज जोशीले गरेका थिए । सभामा प्रमुख अतिथिका रूपमा कैलाली अस्पतालका अध्यक्ष एवं सञ्चालक जनकराज जोशीको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि जोशीले सहकारीले समुदायको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मर्यादित व्यवसाय, पारदर्शिता र प्रविधिको प्रयोगले सहकारीलाई अझ विश्वसनीय बनाउने बताए । उनले सहकारीमार्फत उत्पादन, बचत र लगानीको संस्कार विकास गर्न सके आर्थिक आत्मनिर्भरता सम्भव हुने बताए । यसैगरि साधारण सभाको अवसरमा सहकारीबाट कर्जा लिई उत्कृष्ट कारोबार गर्ने सदस्य यम बहादुर रावललाई उत्कृष्ट कर्जा सदस्य तथा नियमित र उदाहरणीय बचत गर्ने सदस्य लक्की शाहलाई उत्कृष्ट बचत सदस्य घोषणा गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।
करिब ९ सय शेयर सदस्य रहेको सहकारी संस्थाले प्रविधिमैत्री सेवा, मर्यादित व्यवसाय र सदस्यको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको सहकारीका अध्यक्ष जोशीले बताए । कार्यक्रममा सहकारीको प्रगति विवरण, आर्थिक अवस्था तथा भावी कार्ययोजनामाथि छलफल गरिएको थियो ।

