कञ्चनपुर: बेदकोट नगरपालिका–८ का ६१ किसान ६० वर्षपछि जमिनका आधिकारिक मालिक बनेका छन्। ०२२ देखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा हात परेसँगै उनीहरू जमिनको मालिक भएका हुन् । बेदकोट नगरपालिकाले यहाँका ६१ किसानलाई वर्षौदेखि भोगचलन गर्दै आएको जमिनको आज लालपुर्जा वितरण गरेको हो। यसअघि पनि नगरपालिकाले दुई वर्षमा ७० किसानलाई लालपुर्जा वितरण गरेको थियो। हालसम्म यहाँका १३१ परिवारले जग्गाधनी लालपुर्जा हात पारिसकेको नगरपालिकाले जनाएको छ।
तत्कालीन राजा महेन्द्र शाहले ऐलानी खोलेका वेला ०२२ सालदेखि पहाडसहित अन्यन्त्र जिल्लाका सर्वसाधारण साबिक सुडा पञ्चायत गाविस ९हाल बेदकोट नगरपालिका–८० मा बसाइँ सरी आएका थिए । यसबिचमा लालपुर्जा पाउनबाट वञ्चित एवं छुटेका स्थानीयले अहिले पाएका हुन् । बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले लामो समयको प्रतीक्षापछि १३१ किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए। वडाध्यक्ष जोशीले वडाबाट २१३ किसानलाई लालपुर्जा वितरणका लागि सिफारिस गरे पनि जिल्ला भूमि आयोगले पहिलो चरणमा ७० र अहिले ६१ किसानलाई लालपुर्जा वितरण गरेको बताए। वडाध्यक्ष जोशीले वषौँदेखि जमिन उपभोग र संरक्षण गर्दै आएका किसानले ढिलो गरी भए पनि लालपुर्जा पाएको बताए।
बेदकोट नगरपालिका–६ का ३१ किसानले पनि लालपुर्जा पाएका छन्। वडा नम्बर ६ का वडाध्यध्यक्ष तुलसी रानाले यसअघि पुर्जा नपाएका किसानले अहिले पाएको र छुटपुटलाई पछि पनि वितरण गरिने बताए। बेदकोट नगरका मेयर भोजराज बोहराले ८ र ६ नम्बर वडाजस्तै अन्य वडामा समेत क्रमशः लालपुर्जा वितरण गरिने बताए । मेयर बोहराले वडाध्यक्ष महेशदत्त जोशी, तुलसी रानासहित पालिका, आयोगसहितको प्रयासले केही किसानलाई लालपुर्जा वितरण गर्न सफल भएको बताए । उनले अन्य वडाध्यक्षहरूलाई समेत आयोगको कामकाजअघि बढाउन आब्हान गरेका छन् ।
बेदकोट नगरका उपमेयर तुलसी जोशीले आठ नम्बर वडा जस्तैँ अन्य वडा समेत सक्रिय हुनुपर्नेमा जोड दिँदै नगरका १० वटै वडामा बाँकी रहेको काम शिघ्र गर्नुपर्ने अनुरोध गरे । ६ दशकपछि जमिनको मालिक भएका स्थानीयले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । उनीहरूले बेदकोट–८ नगरपालिका नेतृत्व एवं भूमि आयोगप्रति आभार प्रकट गरेका छन् । स्थानीय रतनराम लुहारले बाजेका पालामा बसेको र अहिले नातिका पालामा आएर जमिनको स्वामित्व पाएको बताए । ‘हामी त यहाँ दार्चुलाबाट आएका हौँ,’ उनले भने, ‘६० वर्षसम्म जमिन जोते खाए तर कानुनी रुपमा हामीसँग जमिनको केही प्रमाण थिएन्, आज पाएर खुसी भएका छौँ ।’
लालपुर्जा पाएकी सुनिता नाथले पनि ससुराका पालामा ०२२ सालतिरदेखि बसेको र अहिले ०८२ सालमा आएर मात्रै लालपुर्जा पाएको बताइन् । ‘हाम्रो परिवार ऐलानी खुलेका वेला यहाँ बसेको थियो,’ उनले भनिन्, ‘यसबिचमा कुनै पनि सरकार र आयोगले हामीलाई लालपुर्जा दिएन। अहिलेका जनप्रतिनिधि, सरकार र आयोगले जमिनको मालिक बनाएको छ, हामी खुसी भएका छौँ।’
लालपुर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि एवं भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले बेदकोट नगरपालिका–८ सहित देशभरका वडा, पालिका, आयोगहरू सक्रिय हुनुपर्ने बताए। अध्यक्ष रिजालले स्थानीय जनप्रतिनिधिसहितका सरोकारवाला निकाय सक्रिय भए समस्या समाधानमा सहज हुने उनको भनाइ छ।

