धनगढीः भारत–नेपाल सीमामा अवैध मादक पदार्थ तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सञ्चालन भइरहेको कवच योजना अन्तर्गत उत्तर प्रदेशको खीरी जिल्लास्थित गौरीफन्टा नाकाबाट धनगढीका एक युवक पक्राउ परेका छन्। भारतीय प्रहरीले पुस २३ गते बुधवार लागुऔषध खैरो हिरोइनसहित धनगढी-२ सन्तोषी टोलका बेबी चौधरीलाई प्रकाउ गरेको हो।
गौरीफन्टा थाना प्रहरी र एसएसबी टोलीले संयुक्त रूपमा चेकिङ गर्ने क्रममा चौधरी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ। चेकिङका क्रममा अभियुक्तको साथबाट ६।४६ ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। उक्त कारबाही खीरी जिल्लाका अपर पुलिस अधीक्षक ९पश्चिमी० को निर्देशन तथा क्षेत्राधिकारी पलियाको नजिकको निगरानीमा, गौरीफन्टा प्रहरी चौकीका प्रभारी निरीक्षकको नेतृत्वमा सम्पन्न गरिएको हो।
पक्राउ तथा बरामदगीसम्बन्धी विषयमा गौरीफन्टा थानामा मुद्दा नं। ०१/२६ अन्तर्गत एनडीपीएस ऐनको धारा ८/२१/२३ अनुसार अभियोग दर्ता गरिएको छ। अभियुक्त बेबी चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी माननीय अदालतमा पेश गरिएको भारतीय प्रहरीको भनाइ छ।
सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि यस्ता संयुक्त अभियानलाई अझ कडाइका साथ अगाडि बढाइने सुरक्षा निकायले जनाएको छ।

