कैलाली । नेकपा एमालेको सचिवालय बैठकले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ। संगठनलाई थप सुदृढ बनाउँदै निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी रूपमा संयोजन गर्ने उद्देश्यले हालै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो।
कैलाली: लिला भण्डारी
कञ्चनपुर: निरु पाल
डडेल्धुरा: पठान सिंह बोहरा
बझाङ: एन महर
बाजुरा: लालबहादुर थापा
अछाम: झपट बोहरा
डोटी: चक्रबहादुर मल्ल
जिल्ला इन्चार्जहरूले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय तथा निर्वाचन तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाएका छन्। विशेषगरी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि, जनसम्पर्क र संगठनात्मक रणनीति निर्माणमा उनीहरूको भूमिका महत्वपूर्ण रहने बताइएको छ। यस सन्दर्भमा नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले संगठनात्मक निर्णय समयसापेक्ष र रणनीतिक भएको बताएका छन्।
“आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टी संगठनलाई जिल्लास्तरमा अझ मजबुत बनाउने उद्देश्यले जिल्ला इन्चार्ज तोकिएको हो,” उनले भने, “जिल्ला इन्चार्जमार्फत पार्टीका नीति, कार्यक्रम र राजनीतिक सन्देश जनतासम्म प्रभावकारी रूपमा पु¥याउने अपेक्षा गरिएको छ।” सचिवालय बैठकको यस निर्णयले सुदूरपश्चिम प्रदेशमा पार्टी संगठनलाई थप क्रियाशील बनाउँदै आगामी निर्वाचनमा एकताबद्ध र सशक्त रूपमा अघि बढ्न सहयोग पुग्ने एमालेको विश्वास छ।

