धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा नेता सुर्यबहादुर थापाको नाम समावेश गर्न माग गरिएको छ । कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगानालाई ध्यानाकर्षण पत्र बुझाउदै थापाका प्रतिनिधिले उनको नाम समेत माथिल्लो कमिटीमा सिफारिस गर्न माग गरेका हुन् ।
जिल्ला कमिटी बैठक बस्नुअघि थापाका प्रतिनिधि डिल्लीप्रसाद गड्तौलासहितले ध्यानाकर्षण पत्र बुझाएका हुन् । थापालाई प्रतिनिधि सभाको उम्मेदवारबाट रोक्नलाई क्षेत्रीय कमिटीले षड्यन्त्र पूर्वक नाम जिल्लालाई सिफारिस नगरेको आरोप लगाएको छ ।
एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य समेत रहेका सुर्यबहादुर थापा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । तर क्षेत्रीय समन्वय कमिटीले झपटबहादुर रावल, महादेव बजगाई र कमला ओलीको नाम मात्र पठाएको छ ।
जिल्लाले थापाको नाम थपेर माथिल्लो कमिटीलाई सिफारिस गर्ने प्रतिबद्वता जनाएको छ ।

