कञ्चनपुर: नेकपा एमाले कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट पूर्वसांसद डा. दीपकप्रकाश भट्टको एकल सिफारिस भएको छ । एमाले क्षेत्र ३ ले पूर्वसांसद भट्टको एकल सिफारिस गरेको हो। नेकपा एमाले युवा नेता विष्णुदत्त अवस्थीले पार्टी क्षेत्रीय कमिटीले डा. भट्टको एकल सिफारिस गरेको बताए । एमाले महाधिवेशन प्रतिनिधिसमेत रहेका भट्ट गत मंसिर अन्तिम साता भएको पार्टीको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
०७४ सालमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भट्ट तत्कालीन माओवादीसँगको गठबन्धनमा निर्वाचित भएका थिए । अन्य आठ दलका उम्मेदवारलाई पराजित गर्दै भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेता भट्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पराजित गर्दै निर्वाचित भएका थिए । भट्टले २६ हजार ३६४ र लेखकले २६ हजार १०६ मत ल्याएका थिए । अहिले पुनः भट्ट सिफारिस भएपछि एमाले नेता–कार्यकर्ताहरू उत्साहित भएका छन् ।

