धनगढी । कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति पुगेको छ । दोधारा चाँदनी नगरपालिका–६ का स्थानीय व्यवसायी रमेश औजीको लक्ष्मी पशुपन्छी फर्मका दुई वटा कुखुरा फर्ममा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो ।
आगलागीबाट फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ, भने खोरभित्र पालिएका एक हजार एक सय कुखुराका चल्ला, २० कट्टा चारो लगायत खोरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको व्यवसायी औजीले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, गएराति १ बजे विद्युतको तार सर्ट भएर आगो सल्केको बुझ्नमा आएको छ । आगलागीपछि स्थानीय, नेपाल प्रहरी तथा दमकलको सहयोगमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रनाउ बोहराले बताए ।
प्रहरीका अनुसार, कुखुराको चल्लाको हेरचाहका लागि खोरमै सुतेका राहुल औजी भने भाग्न सफल भएका थिए । औजीले सुतिरहेको अवस्थामा माथिबाट केही खसेपछि आगो लागेको थाहा पाएर भागेर ज्यान जोगाएको बताए ।
प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ११ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

