धनगढी। जेनजी आन्दोलनका कारण लामो समयदेखि अवरुद्ध रहेको सुदूरपश्चिम प्रदेशसभाको बैठक आज पुनः सुरु भएको छ। करिब चार महिनापछि पुनः सञ्चालनमा आएको प्रदेशसभा बैठक आज दिउँसो २ बजेदेखि सुरु भएको हो। बैठकको शून्य समयमा विभिन्न प्रदेशसभा सदस्यहरूले जेनजी आन्दोलन, त्यसले पारेको प्रभाव तथा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आ–आफ्ना धारणा राखेका छन्। प्रदेशसभामा देखिएको गतिरोध, आन्दोलनको कारण, त्यसबाट उत्पन्न राजनीतिक र सामाजिक असर तथा समाधानका उपायबारे सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।
शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरू मानबहादुर धामी, गीता देवी माल, रामेश्वर चौधरी, डम्मरी महरा, लक्ष्मी बी.क लगायतले आफ्ना भनाइ राख्नुभएको थियो। सदस्यहरूले जेनजी आन्दोलनका कारण प्रदेशमा विकास निर्माण, नीति निर्माण र जनसरोकारका विषय प्रभावित भएको उल्लेख गर्दै अब प्रदेश सरकार गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए। नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्य मानबहादुर धामीले भदौ २३ र २४ गते घटेका घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन नेतृत्वले लिनुपर्ने दाबी गर्नुभयो। उहाँले नेपाली युवाहरूले उठाएका मागहरू जायज रहेको उल्लेख गर्दै ती माग समयमै सम्बोधन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको बताउनुभयो। विगतका कमजोरी सच्याउँदै राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिँदै उहाँले अब निर्वाचनमा जानुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीकै प्रदेशसभा सदस्य लक्ष्मी बी।कले सरकारका काम–कारबाही सही दिशामा नहुँदा नै जेनजी आन्दोलन सिर्जना भएको टिप्पणी गर्नुभयो। उहाँले प्रदेशमा बढ्दो असन्तुष्टिका कारण अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी क्षति भएको उल्लेख गर्नुभयो। यत्रो ठूलो आन्दोलन हुँदा पनि प्रदेश सरकारको कार्यशैली र नीतिमा अपेक्षित सुधार नआएको भन्दै उहाँले सरकारको कडा आलोचना गर्नुभयो। कांग्रेसका प्रदेशसभा सदस्य डम्मरी महराले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवामाथि भएको आक्रमण अत्यन्त दुःखद र निन्दनीय भएको बताउनुभयो। उहाँले निष्ठावान राजनीतिक नेतृत्वमाथि आक्रमण हुनु लोकतान्त्रिक मूल्य–मान्यताको प्रतिकूल भएको धारणा राख्नुभयो। आरजु देउवामाथि भएको आक्रमण महिलाहरूलाई राजनीतिबाट पाखा लगाउने उद्देश्यले गरिएको कार्य भएको उल्लेख गर्दै यस्तो प्रवृत्तिको कडा विरोध गर्नुभयो।
बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १०७ को उपनियम (१०) बमोजिम संक्षिप्त वक्तव्यसहित ‘सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गर्नुभएको छ। यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले सभामा विभिन्न वार्षिक प्रतिवेदनहरू पेस गर्नुभएको छ। उहाँले महालेखापरीक्षक तथा मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो।
त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति अक्कल बहादुर रावलले सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १६९ को उपनियम (१०) बमोजिम सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन, २०८२ सभासमक्ष पेस गर्नुभएको छ। प्रदेशसभाको चालु अधिवेशन अन्तर्गत यसअघि गत भदौ ५ गते बैठक बसेको थियो। त्यसपछि जेनजी आन्दोलनलगायतका कारण प्रदेशसभा बैठक लामो समयसम्म अवरुद्ध रहँदै आएको थियो। करिब चार महिनापछि पुस १६ गते पुनः बैठक बसेसँगै प्रदेशसभा गतिविधि पुनः सञ्चालनमा आएको हो।
प्रदेशसभा बैठक पुनः सुरु भएसँगै अब प्रदेशका विधेयक, वार्षिक प्रतिवेदन तथा समसामयिक राजनीतिक विषयहरूमा नियमित छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।

