धनगढी। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अब आउने निर्वाचनमा दल र नेताहरूलाई सुदूरपश्चिमको गरिबी घटाउने स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रोडम्याप मागेर मात्रै योग्य पात्र छनोट गर्न नागरिकलाई आग्रह गरेका छन्। पुस १५ तथा तमु ल्होसारको अवसरमा भिडियो सन्देश जारी गर्दै मेयर हमालले सुदूरपश्चिममा गरिबी झनै बढ्दै जानु दुःखद र चिन्ताजनक विषय भएको बताएका हुन्।
उनका अनुसार देशमा राजनीतिक परिवर्तन र शासन प्रणाली फेरिए पनि सुदूरपश्चिमको विकासको गति अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। “राजनीतिक रूपमा धेरै परिवर्तन भए, तर सुदूरपश्चिमको अवस्था अझै पनि दयालाग्दो छ,” उनले भने।
मेयर हमालले गरिबीसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै कर्णाली र सुदूरपश्चिमबीचको तुलना गरेका छन्। उनका अनुसार सन् २०१९ मा कर्णाली प्रदेशमा गरिबीको दर ३९ दशमलव ५० प्रतिशत रहेकोमा अहिले घटेर २६ दशमलव ६९ प्रतिशतमा झरेको छ। तर त्यही समयमा २५ दशमलव ३० प्रतिशत गरिबी रहेको सुदूरपश्चिम प्रदेशमा अहिले यो दर बढेर ३४ दशमलव १६ प्रतिशत पुगेको छ।
“सुदूरपश्चिमभन्दा गरिब मानिएको कर्णालीले गरिबी घटाउन सफल भयो, तर सुदूरपश्चिममा उल्टै गरिबी किन बढ्यो? यो अत्यन्तै गम्भीर प्रश्न हो,” मेयर हमालले भने, “यसको जवाफ खोज्ने जिम्मेवारी हामी सबैको हो।”
नगर प्रमुख हमालले पुस १५ लाई आधार मानेर अबदेखि दल र नेताहरूसँग गरिबी हटाउने योजनाबारे प्रश्न गर्ने, छलफल गर्ने र बहस सुरु गर्नुपर्नेमा जोड दिएका छन्। उनले निर्वाचनका बेला भोट माग्न आउने नेताहरूसँग भावनात्मक भाषण होइन, गरिबी घटाउने स्पष्ट योजना, समयसीमा र कार्यान्वयनको खाका माग्नुपर्ने बताए।
उनका अनुसार सुदूरपश्चिमप्रति माया गर्ने हरेक नागरिकले अब चिया पसल, चौतारो, टोल र चोक–चोकमा हुने छलफलमा गरिबीको विषयलाई प्राथमिकतामा राख्नुपर्छ। “गरिबी घटाउने स्पष्ट प्लान दिन सक्ने दल र उम्मेदवारलाई मात्रै भोट दिने मनस्थिति अब बनाउनैपर्छ,” उनले जोड दिए।
मेयर हमालले सुदूरपश्चिमको भविष्य सुरक्षित गर्न योजना र रोडम्याप बोकेका नेता तथा दलको छनोट आजको सबैभन्दा ठूलो आवश्यकता भएको स्पष्ट पारे। उनका अनुसार प्रश्न नगरी भोट दिने संस्कृतिले सुदूरपश्चिमलाई पछाडि धकेलेको र अब सचेत नागरिकको दबाबबाट मात्रै वास्तविक परिवर्तन सम्भव हुने छ।
अन्त्यमा उनले पुस १५ लाई गरिबीविरुद्धको बहस सुरु गर्ने दिनका रूपमा लिन आग्रह गर्दै, दल र नेताहरूलाई जनताको प्रश्नको उत्तर दिन बाध्य बनाउने वातावरण निर्माण गर्न सबै नागरिक एकजुट हुनुपर्ने बताए।

