धनगढी । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टले करिब साढे चार दशक लामो राजनीतिक यात्रापछि नयाँ मोड लिएका छन् । लामो समय कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका भट्ट हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्, जसले सुदूरपश्चिमको राजनीतिमा नयाँ चर्चा र बहस जन्माएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहेका भट्टले गत कात्तिक १४ गते पार्टीबाट राजीनामा दिएका थिए । त्यसको झण्डै डेढ महिनापछि पुस ६ गते उनले औपचारिक रूपमा रास्वपाको सदस्यता लिँदै ‘घण्टी’ चुनाव चिह्न अंगालेका हुन् ।
रास्वपामा प्रवेश गरेलगत्तै पद, हैसियत वा टिकटको अपेक्षा नगरेको स्पष्ट पार्दै भट्टले आफू संगठन निर्माणको अभियानमा केन्द्रित हुने बताएका छन् । “म कुनै लोभ, सर्त वा सौदाबाजीका साथ पार्टीमा आएको होइन,” उनले भने, “सुदूरपश्चिममा रास्वपाको संगठन बलियो बनाउँदै आगामी निर्वाचनमा यसलाई पहिलो पार्टी बनाउने लक्ष्य लिएर अघि बढेको छु।” उनको रास्वपा प्रवेशसँगै कैलाली क्षेत्र नम्बर ४ बाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलेको छ । तर भट्टले उम्मेदवारीको विषय पार्टीको आन्तरिक प्रक्रियाबाट तय हुने भन्दै आफूले कुनै दाबी नगरेको बताएका छन् । “रास्वपामा प्राइमरी प्रणाली छ । जसले विश्वास जित्छ, उही उम्मेदवार बन्छ,” उनले भने, “म योग्य छु भन्ने आत्मविश्वास छ, तर निर्णय पार्टीकै विधिले गर्छ।”
४६ वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै भट्टले सांसद बन्ने क्षमता भए पनि तत्काल व्यक्तिगत महत्वाकांक्षा नराखेको बताएका छन् । आफ्नै दाजु लेखराज भट्टसँग चुनावी प्रतिस्पर्धा हुन सक्ने चर्चालाई उनले ‘स्वाभाविक अड्कलबाजी’को रूपमा लिएका छन् । “म कसैको भाइ भएकै कारण चिनिएको होइन,” उनले स्पष्ट पारे, “यदि परिस्थिति बन्यो भने जिम्मेवारीबाट पछि हट्दिनँ, तर कसैलाई हराउनकै लागि उम्मेदवार बन्ने सोच छैन।”
लामो समय पुराना दलहरूमा बिताएका भट्टले जनतामा देखिएको गहिरो निराशाकै कारण नयाँ राजनीतिक विकल्प रोजेको बताए । “एमाले छोड्दा म स्वतन्त्र नागरिक भएर बस्ने सोचेको थिएँ,” उनले भने, “तर समाजका समस्याहरू र जनताको पीडाले चुप लागेर बस्न दिएन । अहिले देशमा आशाको केन्द्र रास्वपा नै देखिएको छ।” सुदूरपश्चिममा रास्वपाको संगठनात्मक संरचना कमजोर रहेको स्वीकार्दै उनले जनसमर्थन भने उल्लेख्य रूपमा बढिरहेको दाबी गरे । “सबै वडामा समिति नहुन सक्छ,” उनले भने, “तर जनताबाट फोन आउँछन्, जोडिन चाहन्छन् । अब मेरो मुख्य जिम्मेवारी गाउँ–गाउँ पुगेर संगठन विस्तार गर्नु हो।”
हाल पार्टीले औपचारिक जिम्मेवारी नदिए पनि साधारण सदस्यका रूपमा काम गर्न आफू तयार रहेको भट्टको भनाइ छ । बालेन शाह र रास्वपाबीच देखिएको सहकार्यले जनतामा थप उत्साह पैदा गरेको उनको बुझाइ छ । गोकर्ण भट्ट माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय भएका नेता हुन् । उनले २०७४ मा माओवादी केन्द्र र २०७९ मा एमालेबाट कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए, तर दुवै पटक पराजय व्यहोरेका थिए । पछिल्लो समय पार्टीभित्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका हुन् ।
“म हतारमा छैन,” भट्टले भने, “अहिले पदभन्दा महत्वपूर्ण कुरा संगठन निर्माण र परिवर्तन हो । समय आएपछि पार्टीले मेरो मूल्यांकन गर्नेछ।”

