धनगढी । आगामी फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट मीनराज बडुलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीले जारी गरेको जानकारीअनुसार बडु बौद्धिक, वामपन्थी समाजवादी चिन्तनमा स्थापित युवा नेता हुन् । उनी लामो समयदेखि राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । स्थानीय तहमा लोकप्रिय, जिम्मेवार र सबै वर्ग समुदायसँग समन्वय गर्न सक्ने क्षमतावान नेताका रूपमा बडुको पहिचान स्थापित रहेको पार्टीको दाबी छ ।
अनेकौं नेता तथा कार्यकर्तामध्ये कैलाली क्षेत्र नं। ४ को भौगोलिक अवस्था, स्थानीय जनआकांक्षा, राजनीतिक आवश्यकता, वर्गीय प्रतिनिधित्व र नेतृत्व क्षमतालाई समग्र रूपमा मूल्याङ्कन गरी बडुलाई उम्मेदवार सिफारिस गरिएको पार्टीले जनाएको छ । उनी पार्टी एकता प्रक्रियामा समावेश भएका १६ घटकमध्ये साविक नेसपाको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता समेत हुन् ।
पार्टीका अनुसार बडुको आर्थिक तथा सामाजिक नेटवर्क बलियो छ । उनी सबै वर्ग, जाति र समुदायप्रति उत्तरदायी तथा समावेशी सोच भएका नेताका रूपमा चिनिन्छन् । सानै उमेरदेखि संघर्षशील जीवन बिताउँदै आएका बडु क्रान्तिकारी विचारधारामा दृढ रहँदै सुशासन, सामाजिक न्याय र समानताको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । भ्रष्टाचारविरुद्ध स्पष्ट र निडर धारणा राख्ने नेताका रूपमा समेत उनको परिचय रहेको पार्टीले जनाएको छ । उनको उम्मेदवारी सिफारिससँगै विशेषगरी युवा, बौद्धिक वर्ग, श्रमिक तथा परिवर्तन चाहने आम जनसमुदायमा उत्साह थपिएको बताइएको छ । स्थानीय स्तरमा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका विषयमा बडुले उठाउँदै आएका मुद्दाहरूले जनसमर्थन बढाएको पार्टीको बुझाइ छ ।
पार्टीले मीनराज बडुलाई विकास, समृद्धि र समाजवादका स्पष्ट वक्ता मात्र नभई दीर्घकालीन योजना निर्माण गर्न सक्ने अध्ययनशील र दूरदर्शी नेता भएको दाबी गरेको छ । आर्थिक, सामाजिक र नैतिक दृष्टिले सबल व्यक्तित्वका रूपमा परिचित बडुले जनताको विश्वास जित्दै क्षेत्रको समग्र विकास र सुशासनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पार्टीले राखेको छ ।

