धनगढी। धनगढीमा अभिभावक तथा शिक्षकहरूका लागि अटिजम सचेतना तथा क्षमता अभिवृद्धि सम्बन्धी दुईदिने तालिम सुरु भएको छ। राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल, धनगढीको आयोजनामा अपाङ्गता सहायता कोषको सहकार्य तथा धनगढी उप–महानगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो। धनगढीस्थित राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालको सभाहलमा सुरु भएको तालिमको उद्घाटन धनगढी उप–महानगरपालिकाकी उपमेयर कन्दकला रानाले गरेकी हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर रानाले बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षामा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्। उप–महानगरपालिका यस्ता बालबालिकाको शिक्षा, दीक्षा तथा स्वास्थ्यका क्षेत्रमा संस्थासँग सहकार्य गर्दै आएको पनि उनले उल्लेख गरिन्।
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालका अध्यक्ष रमेश बस्नेतका अनुसार तालिममा अटिजम भएका बालबालिकाका ३० जना अभिभावक सहभागी छन्। तालिममा अटिजम भएका बालबालिका र तिनका अभिभावकले भोग्दै आएका समस्या, सहजीकरणका उपाय तथा व्यवहारिक अभ्यासबारे छलफल गरिने उनले जानकारी दिए। तालिममा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक प्रयागराज जोशीसहित अपाङ्गता क्षेत्रका विज्ञहरू प्रशिक्षकका रूपमा सहभागी छन्।
यसैबीच, तालिमको उद्घाटन अवसरमा राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपालले धनगढी उप–महानगरपालिकालाई विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाएको छ। अध्यक्ष बस्नेतले उपमेयर रानालाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। ज्ञापनपत्रमा अटिजम तथा कम प्रतिनिधित्व भएका अपाङ्गता समूहलाई धनगढी उप–महानगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकता दिन माग गरिएको छ। पछिल्लो समय शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि उप–महानगरपालिकाले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरिए पनि अटिजम, डाउन सिन्ड्रोम, बौद्धिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरू अपेक्षाकृत रूपमा प्राथमिकतामा नपरेको उल्लेख गरिएको छ।

संस्थाले काठमाडौँ महानगरपालिकाले अटिजम भएका बालबालिकाको शिक्षाका लागि सुरु गरेको अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै धनगढीमा पनि अटिजम तथा पुनःस्थापना केन्द्र सञ्चालन गर्न पहल गर्न माग गरेको छ। तर यस प्रक्रियामा उप–महानगरपालिकाको शिक्षा शाखाबाट अपेक्षित समन्वय र सहयोग नपाएको गुनासो पनि ज्ञापनपत्रमा समेटिएको छ। समन्वयको अभावका कारण अटिजम भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न तथा संघीय र स्थानीय तहका सफल अभ्यासलाई स्थानीय स्तरमा विस्तार गर्न कठिनाइ भइरहेको संस्थाको भनाइ छ। यसले सम्बन्धित बालबालिका र तिनका परिवारलाई थप चुनौतीपूर्ण जीवन बिताउन बाध्य बनाएको उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा अटिजम भएका बालबालिकाका लागि उपयुक्त शिक्षण विधि, प्रारम्भिक पहिचान, पुनःस्थापना सेवा, अभिभावक परामर्श तथा सामाजिक समावेशीकरण अत्यन्त आवश्यक रहेको जनाइएको छ। साथै, संघ, प्रदेश र स्थानीय तह, नागरिक समाज, अभिभावक समूह तथा विशेष संस्थाबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको छ। अन्त्यमा, अटिजम तथा अन्य कम प्रतिनिधित्व भएका अपाङ्गता समूहका व्यक्तिहरूका लागि लक्षित नीति, कार्यक्रम र बजेट विनियोजनलाई नगरको सामाजिक उत्तरदायित्वका रूपमा लिन उप–महानगरपालिकालाई आग्रह गरिएको छ। आवश्यक पहल, नीति निर्माण तथा कार्यक्रम कार्यान्वयनमा सकारात्मक कदम चालिने विश्वास व्यक्त गर्दै ज्ञापनपत्र बुझाइएको हो।

