धनगढी । सभाहल तथा आवश्यक भौतिक र प्राविधिक व्यवस्थापनको काम पूरा नहुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक आज पनि बस्न सकेन । पुस ११ गतेका लागि तय गरिएको प्रदेशसभा बैठक सभाहलको पुनर्निर्माण अधुरो रहेकाले पुनः स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा भवनमा आवश्यक कुर्सी, माइक, ध्वनि प्रणाली तथा अन्य संरचनात्मक र प्राविधिक तयारी पूरा हुन नसकेकाले बैठक सञ्चालन गर्न सम्भव नभएको सचिवालयको भनाइ छ । सभामुख भीम बहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिबाट बैठक सञ्चालनसम्बन्धी निर्णय गरिसके पनि सभाहल पूर्ण रूपमा तयार नभएकै कारण बैठक सार्नुपरेको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडले सुदूरपश्चिम प्रदेशसभा भवनमा ठूलो क्षति पुगेको थियो । उक्त घटनामा प्रदेशसभा सचिवालय, विभिन्न संसदीय दलका कार्यालय तथा संसद् भवनमा गरी करिब आठ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । सोही क्षतिका कारण प्रदेशसभा बैठक पछिल्लो साढे तीन महिनादेखि ठप्प अवस्थामा रहँदै आएको छ ।
लामो समयपछि आज बैठक बस्ने अपेक्षा गरिए पनि पुनर्निर्माणकै कारण त्यो सम्भव हुन सकेन । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आगजनी र तोडफोडबाट क्षति पुगेका संरचनाको मर्मत–सम्भारको काम अन्तिम चरणमा पुगेको छ ।सूचना अधिकारी जैशीका अनुसार पछिल्लो समयको चिसो मौसम र आर्द्रताका कारण फर्निचर निर्माण तथा जडान कार्यमा ढिलाइ भएको हो । “फर्निचर र माइक जडानको काम अबको दुई–तीन दिनभित्र सम्पन्न हुन्छ,” उनले भने, “काम सकिएपछि एक साताभित्र प्रदेशसभा बैठक सञ्चालन हुनसक्छ ।” अर्को बैठकको ठोस मिति भने तय हुन सकेको छैन ।
प्रदेशसभा बैठक लामो समयसम्म नबस्दा प्रदेशका महत्त्वपूर्ण विधेयक, नीति तथा विकाससम्बन्धी विषयमा छलफल हुन सकेको छैन । बजेट कार्यान्वयन, कानुन निर्माण तथा विकास योजनासम्बन्धी निर्णय प्रक्रिया समेत प्रभावित बनेको छ । राजनीतिक दल तथा सरोकारवालाहरूले सभाहलको पुनर्निर्माण कार्य छिटो सम्पन्न गरी प्रदेशसभा बैठक नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।
सभाहल पुनर्निर्माणमा भएको ढिलाइका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक अझै अनिश्चित बनेको छ । लामो समयदेखि बैठक नबस्दा प्रदेशको समग्र शासकीय प्रक्रिया प्रभावित भएकाले पुनर्निर्माण कार्य समयमै सम्पन्न गरी बैठक सञ्चालन गर्नु अहिलेको मुख्य आवश्यकता बनेको छ ।

