धनगढी । शुक्लाफाँटा वन्यजन्तु आरक्ष हाल निकुञ्ज विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित हुनुभएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्रिँदै पालमुनि बस्दै आएका छन् । भीमदत्त नगरपालिका–४ स्थित जडीबुटीको जमिनमा पालमुनि बस्दै आएका उनी चिसोका कारण पालमुनि बस्न समस्या भइरहेको बताउछन् । जाडो सुरु भएसँगै रातिको समयमा शीत चुहिँदा रातभर चिसोले कठ्याङ्ग्रिँदै गुजारा गर्नु परेको आरक्ष विस्थापितले पीडा पोखे । सरकारले २०५८ वन्यजन्तु आरक्षको नाममा खोसेको गाँस, बास फिर्ता गर्नुपर्ने आरक्षपीडित भट्टले माग गरे ।
यसै गरी रौतेली बिछुवाबाट विस्थापित अर्का आरक्षपीडित वासुदेवी दमाईंले बर्सेनि चिसोमा कष्टकर जीवन बिताउन बाध्य भएको तर सरकारले कुनै ध्यान नदिएको गुनासो गरे ।
खान, लगाउनका लागि कतैबाट पनि सहयोग नहुँदा आरक्षपीडितहरू विपत्तिमा दैनिकी काट्नु परेको गुनासो गर्छन् । हिरापुरबाट विस्थापित भएका ४० वर्षीय शेरबहादुर चुनारा वृद्ध आमाबुवासँगै महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पालमा बस्दै आएका छन् । न्यानो कपडाका अभावमा रात काट्न समस्या भएको भन्दै उनले खानेपानी, शौचालयको पनि व्यवस्था नहुँदा झनै समस्या भएको गुनासो गरे ।
जिल्लास्थित ढक्का, हिरापुरलगायत ११ शिविरका तीन सय परिवार अहिले महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पाल टाँगेर बस्नुभएको छ । आरक्षपीडितले १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् । विभिन्न स्थानमा शिविरमा झन्डै चार हजार आरक्ष विस्थापित बस्दै आएका छन् । आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका अध्यक्ष रति सुनारले यहाँको भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरूलाई भेटेर आरक्षपीडित परिवारलाई खानेपानी, खाद्यान्न, लत्ताकपडा, शौचालयको व्यवस्था गरिदिन आग्रह गरे पनि वास्ता नगरेको गुनासो गरे ।
जडीबुटीको खाली जमिनमा बस्दै आएका आरक्षपीडितलाई भगतपुरका स्थानीयले दुई वटा खानेपानीको धारा उपलब्ध गराएर सहयोग गर्नुभएको छ । उक्त धाराको पानीले खानका लागि गुजारा चलेको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष सुनारले बताए । तर लत्ताकपडा धुन, नुहाउनका लागि भने उनीहरू टाढाको खोला, नदीमा जाने गरेको बताउँछन् ।
भीमदत्त नगरपालिकाले जिल्लाका अन्य पालिकाबाट आएर यहाँ बसेका आरक्षपीडितको सम्पूर्ण व्यवस्थापन भने गर्न नसकिने बताएको छ ।


