कञ्चनपुर: यस वर्ष गुण तथा चिनी उत्पादन गर्ने उद्योगहरूले उखु क्रसिङ सुरु गरेसँगै कञ्चनपुरका उखु किसान खेतबारीमा व्यस्त देखिएका छन् । कञ्चनपुरको बेलौरी– १०, शिवनगर र पुनर्वास नपा– २, दशरथ बस्तीमा चिनी उद्योग, बेलडाँडीको केदार गुण उद्योगसहितका अन्य गुण उद्योगले उखु क्रसिङ सुरु गरेसँगै जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीसहितका किसान यतिवेला उखु काट्नका लागि खेतबारीमा व्यस्त भएका हुन् ।
नगदेबालीको रूपमा रहेको उखु बिक्रीका लागि किसान बिहानैदेखि साँझसम्मै खेतबारीमा समय बिताइरहेका छन् । सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्यसमेत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा ५८५ रुपैयाँ निर्धारण गरेको सरकारले यस वर्षदेखि ३५ रुपैयाँ वृद्धि गरेर ६२० पुर्याएको र प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय गरेसँगै किसान उत्साहित भएका छन् । किसानको लागत अनुपातमा उखुको मूल्य वृद्धि नभए पनि गत वर्षभन्दा वृद्धि गरेपछि किसान उत्साहित भएका हुन् । उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले किसानको अपेक्षाकृत मूल्य वृद्धि नगरे पनि तुलनात्मक रूपमा वृद्धि गरेको बताए ।
‘विगतभन्दा उखुको मूल्य वृद्धि भएको छ,’ उनले भने, ‘यसमा हामी खुसी छौँ, अब सरकारले अनुदान वितरणका कामकाजमा ढिलासुस्ती पनि गर्न हुन्न ।’ गत वर्ष अनुदानको रकम भुक्तानीका लागि जिल्लादेखि केन्द्रसम्मै आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ । नगदे बालीको रूपमा रहेको उखखेती कञ्चनपुरका किसानका लागि घरदैलोमै रोजगारी बनेको छ । जस्तो गुलियो उस्तै उखुले किसानको जीवनमा सुधार ल्याइदिएको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा चिनी उद्योग स्थापना भएसँगै उखु किसानको जीवनमा आर्थिक सुधार आइरहेको छ ।
१५ वर्षअघि बेलौरी– १० शिवनगर र १० वर्षअघि पुनर्वास नपा– २, दशरथ बस्तीमा चिनी उद्योग सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास लालझाडसहितका जिल्लाका अन्य पालिकाका गाउँबस्तीका उखु किसानको जीवनमा आर्थिक सुधार ल्याएको हो । दुवै चिनी उद्योग नहुँदा पनि थोरै किसानले उखुखेती गर्दैै आएका, उद्योग सञ्चालनमा आएसँगै जिल्लामा अहिले थुप्रै किसानले उखुखेती गरिरहेका छन् । उनीहरूले स्वदेशमा रहेका केही गुण उद्योग र भारतमा बेच्दै आएका थिए । गाउँमै उद्योग नहुँदा सस्तोमै भारतमा उखु बेच्नुपर्ने पनि किसानको बाध्यता थियो, तर अहिले उखु किसानका अधिकांश समस्या टर्दै गएका छन् ।
झन्डै २०/२२ किलोमिटर दूरीमा दुई चिनी उद्योग सञ्चालनमा आएपछि स्थानीय उखु किसानलाई ठुलो राहत मिलेको छ । बेलडाँडी– ४, वैवाहका उखु युवा किसान दिलप्रसाद शर्माले उखु खेतीलाई स्वरोजागरकै रूपमा काम गरेको बताए । उनले भने, ‘मेरो परिवारले २० वर्षदेखि उखुखेती गर्दै आएको थियो, उतिवेला गाउँमा गुण उत्पादन गर्ने कोल मात्रै थिए, अहिले दुई ठुला चिनी उद्योग सञ्चालनमा आएका छन्, मै विदेश जानभन्दा अरूको जमिन पनि भाडामा लिएर उखुखेती गर्छु, अन्य किसानको उखु पनि मिलसम्मै ओसार्छु ।’ शर्माले कञ्चनपुरमा आठ बिघा र बर्दियामा समेत ६ बिघा जमिनमा उखुखेती गरेका छन् । उनले आफूले वार्षिक एक करोडको कारोबार गर्दै आएको बताए । ‘उखुमै थुप्रै सम्भावना छ, किन विदेश जानुपर्यो, हाम्रै माटोमा कमाइ छ,’ उनले भने, ‘सरकारले पनि युवाहरुलाई उखुखेतीतर्फ आकर्षित हुने कार्यक्रम प्रवर्द्ध गर्नुपर्छ ।’
पुनर्वास नगरपालिका– ९ का निवर्तमान वडाध्यक्षसमेत रहेका उखु किसान नारायणप्रसाद जैसीले नेपालको आर्थिक सवृद्धिको आधार उखु भएको बताए । उनले भने, ‘हामीले स्वदेशमा थुप्रै उखुखेती गरेर चिनी उत्पादन गरेर विदेशमा पनि बेच्नुपर्छ, तब मात्रै हाम्रै वैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ ।’ अढाई दशकदेखि उखुखेती गर्दै आएका पुनर्वासका उखु किसान जैसीले पाँच बिघामा उखुखेती गरेका छन् । उनले आफ्नोसहित जमिन भाडामा लिएर उखुखेती गरेका छन् । ‘विगतमा हामीले भारतमा पनि उखु बेच्दै आएका थियौँ,’ उनले भने, ‘अहिले त स्वदेशमै पनि उखु क्रसिङ गर्ने उद्योग सञ्चालनमा आएका छन्, हामीलाई सहज भएको छ ।’
बेलौरी नगरपालिका– १०, सडकघाटका उखु किसान चक्रहादुर कडायतले ३२ बिघा जमिनमा उखुखेती गरेका छन् । उनी उखुखेतीबाटै ठाउँ–ठाउँमा सम्पत्ति पनि जोडेको बताउँछन् । ‘मैले २२ वर्षदेखि उखुखेती गर्दै आएको छु,’ उनले भने, ‘स्वदेशमा चिनी मिल नहुँदा भारतमा बेच्नुपर्ने बाध्यता थियो, अहिले दुई चिनी उद्योग सञ्चालनमा रहेकाले सहज भएको छ ।’ कडायतले वार्षिक ५० देखि ६० लाखको उखु बेच्दै आएका छन् । उनले मल, बिउ, औषधिका कारण उखु किसानलाई समस्या भएको बताए ।
चिनी उद्योगले दुईदेखि चार साताभित्रै भुक्तानी गर्दै आए पनि किसानलाई सुविधा भएको उनले बताए । बेलडाँडी गाउँपालिका– ४, वैवाहकै अर्का उखु किसान रनिसिंह धामीले पनि दुई दशकदेखि उखुखेती गर्दै आएका छन् । ‘मैले विगतमा १० कट्ठामा उखुखेती गर्दै आएको थिएँ, उद्योग सञ्चालनमा आएपछि अहिले डेढ बिघामा उखुखेती गर्छु,’ उनले भने, ‘घर–परिवारको आयको स्रोत पनि उखु नै छ, तर सरकारी अनुदान लिन झन्झट भएको छ ।’ लालझाडी गाउँपालिका– ३, नन्दगाउँका उखु किसान बहाली रानाले जिल्लामा दुई चिनी उद्योग स्थापना भएसँगै सहजै उखु उत्पादनको दायरासमेत वृद्धि गरेको बताए । उनले भने, ‘मैले ०६२ सालदेखि नियमित उखुखेती गर्दै आएको छु, उतिवेला चिनी उद्योग थिएनन्, रतनपुरमा भएको एक सानो चिनी उद्योग पनि बन्द भयो, गाउँकै कोलमा बेच्दै आएको थिएँ, अहिले फेरि चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार गरेको छु ।’
विगतमा १० कट्ठामा उखुखेती गर्दै आएका रानाले अहिले तीन बिघामा गर्दै आएका छन् । उनले उखुबाट वार्षिक आठदेखि १२ लाख कारोबार गर्दैै आएको बताए । ‘अरू खेतीभन्दा उखुले नगदै प्रतिफल दिन्छ,’ उनले भने, ‘त्यही भएर उखुखेती गरिरहेको छु ।’ रानाले सरकारी अनुदान पाउनमा झन्झटिलो भएकाले कि हटाउनुपर्ने नभए सहज बनाउनुपर्ने माग राखेका छन् । दुवै चिनी उत्पादक उद्योगले दैनिक २५ हजार क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्दै आएका छन् । नयाँपत्रिकाबाट


