धनगढी । कैलालीको धनगढीमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजनामा सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न पूर्व अभ्यास गरिएको हो ।
पछिल्लो समय सवारी दुर्घटना भई ठूलो जनधनको क्षति हुने क्रम बढ्दै गएकाले त्यसलाई कम गर्न पूर्व तयारीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले कृत्रिम अभ्यास गरेका हुन् । अभ्यासमा मोटर साईकलले ओर ट्याक गर्ने खोज्दा दुई वटा बस एक आपसमा ठोकिएर दुर्घटना भएको हुन्छ । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिन्छ । उद्धारमा तीन वटै सुरक्षाकर्मीको सक्रियता रहन्छ ।
विपद् जोखिम कृत्रिम घटना अभ्यासको अवलोकन गर्न पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी पुगेका थिए । विपद्सँगै सवारी दुर्घटना जति बेला पनि हुन सक्ने भएकाले त्यस्ता घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्था रहने प्रमुख जिल्ल अधिकारी रेग्मीले बताए । उनले जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धित निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने जानकारी दिए ।

दुुर्घटना भइहाले त्यसबाट तत्काल उद्दारमा जुट्न सक्ने बनाउन कृत्रिम अभ्यास महत्वपूर्ण हुने प्रहरी प्रमुख नरेन्द्र चन्दले बताए । उनले भने ‘कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर आउँदैनन्, तर सडक दुर्घटना भने लापरबाहीले नै बढी हुने भएकाले यस्ता अभ्यासको ठूूलो महत्व रहेको बताए । छ ।’ विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको उनले जानकारी दिए ।
जिल्लामा सुरक्षा निकायले विगतमा पनि विपद् जोखिम व्यवस्थापनमा कृत्रिम अभ्यास गर्दै आएको छ । आगालागी होस् वा, बाढी पहिरो जस्ता विपद्का घटनाहरुबाट क्षति कम गर्न सुरक्षा निकायले बेला बेलामा यस्ता अभ्यास गर्दै आएको पाइन्छ ।


