कञ्चनपुर — चाँडपर्व र खेतीपातीको काम सकिएपछि थारु समुदायका प्रायः युवा कामको खोजीमा भारत पस्न थाल्छन् । उनीहरु उत्तराखण्डदेखि हिमाञ्चल र कतिपय दिल्ली, मुम्बई र बेङ्लोरसम्म पुग्ने गरेका छन् । तर पछिल्लो समय कतिपय युवा भने गाउँनजिकै काम गरेर नियमित आम्दानी गरिरहेका छन् ।
कैलालीको कैलारी ३ हसुलियाका सुवर्ण चौधरी दुई दशकदेखि परिवारसहित महेन्द्रनगरमा बसोबास गरिरहेका छन् । घर निर्माणको काममा संलग्न रहेका उनी आफु पनि मिस्त्री (डकर्मी) हुन् । निजी तथा ठूल्ठूला व्यापारिक संरचना निर्माणको ठेक्का लिएर काम गर्दै आएका छन् ।
मुक्त कमैया परिवारका उनी सुरुमा मजदुरी गर्थे । मजदुरी गर्दागर्दै मिस्त्रीको काम गर्न थाले । बिस्तारै ठेक्कापट्टा पनि गर्न थाले । अचेल उनी एकै पटक तीनरचार घरको ठेक्का लिन्छन् । ‘कतै आफै हेर्छु, कतै कामदारलाई खटाएर गरिरहेको छु,’ चौधरीले भने, ‘वर्षभरि यसरी नै ठेक्का लिएर आफै काम गर्छु ।’ सुवर्णसँगै उनकी श्रीमती रितिदेवी पनि ज्यामी (हेल्पर) को काम गर्छिन् । दुवै जना प्रायः सँगै हुन्छन् । सुवर्ण मिस्त्रीको काम गर्छन् भने रिती हेल्पर भएर काम गर्छिन् ।
पछिल्लो समय यहाँ घर निर्माणको काम गर्ने अधिकांश थारु समुदायका युवा छन् । थारु समुदायका कतिपय महिलाले पनि मिस्त्रीको काम गरिरहेका छन् । अझ भूकम्प प्रतिरोधी घर निर्माणमा अन्य भन्दा थारु डकर्मी अगाडि देखिन्छन् । कमैया मुक्तिपछि थारु समुदायका थुप्रै युवाले डकर्मीको तालिम गरे । उनीहरु नै अहिले घर निर्माणमा देखिन्छन् । ‘तालिम लिएरै यो काम गर्न थालेका हौं,’ हसुलियाका अर्का मिस्त्री हरि चौधरीले भने, ‘हामीसँगैका धेरैजसो मिस्त्री काममै छन् ।’ चाधैरी पनि मुक्तकमैया परिवारका हुन् । उनलाई मिस्त्री काम गर्न थालेको एक दशक भन्दा बढी भयो । उनीसँग काम गर्ने अन्य कामदार पनि हसुलियाकै छन् ।
उनीहरुले एकै ठाउँमा कोठा भाडामा लिएका छन् । बिहान कोठामै नास्ता गरेर काममा निस्किन्छन् । दिउँसोको खाना सँगै बोकेर लैजान्छन् । साँझ फेरि कोठामै फर्केर खान्छन् । कतिपय निर्माणस्थलमै पनि बस्ने गरेका छन् । मिस्त्री मात्रै होइन सँगै काम गर्ने मुजदुर पनि उनीहरुले सँगै ल्याउँछन् । उनीहरु पनि खेतीपातीको काम सकेर आउने गर्छन् । अहिले सहरी क्षेत्रमा कामदार पाउन सहज छ्रैन । ग्रामीण भेगबाट आउनेहरुले नै सहर बजारतिर निर्माणको काम धानेका छन् । कञ्चनपुर र कैलालीको थारु बस्तीका अधिकांश युवायुवती अहिले यस्तै निर्माण काममा जुटेका छन् । सीप भएकाहरु मिस्त्रीको काम गर्छन् भने अदक्षहरु हेल्परको काम गर्छन् ।
अहिले मिस्त्री काम गर्नेले दैनिक एक हजारदेखि १२ सय रुपैयाँसम्म ज्याला पाउँछन् । हेल्परले दैनिक ६ देखि ७ सय रुपैयाँ पाउँछन् । ‘हामी सबै मजदुरी गरेरै गुजारा गरिरहेका छौं, यसैबाट परिवार चल्छ,’ कैलालीको कैलारी गाउँपालिकाकै राजु चौधरीले भने, ‘कोही कतै, कोही कतै काम गरिरहेका छौं ।’कान्तिपुरबाट


