धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ स्थित पुष्पलाल चोकमा ‘बि फोर स्नोकर एण्ड पुल हाउस’ सञ्चालनमा आएको छ । आधुनिक सुविधा सहित सञ्चालनमा आएको स्नोकर तथा पुल हाउसको आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर–१ का अध्यक्ष शन्तोष मुडभरीले रिबन काटेर स्नोकर एण्ड पुल हाउसको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष मुडभरीका साथै कैलाली उद्योग वाणिज्य संघका सचिव प्रकाश चन्द, व्यवसायी, स्थानिय समाजसेवी तथा युवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मुडभरीले धनगढीमा युवामैत्री तथा मनोरञ्जनात्मक व्यवसाय विस्तार हुँदै जानु सकारात्मक पक्ष भएको बताए । “युवालाई स्वस्थ मनोरञ्जन दिने यस्ता व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै शहरको सौन्दर्य र आर्थिक गतिविधिमा पनि योगदान पुर्याउँछ,” उनले भने ।
सञ्चालक दीपक आचार्यका अनुसार धनगढीमा पुल हाउसहरू सञ्चालनमा रहेपनि ठुलो आकारको स्नोकर सहितको व्यवस्थित स्नोकर एण्ड पुल हाउस भने यो नौलो प्रयास हो । “हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ठुलो स्नोकर टेबल राखेका छौं । यहाँ आउने खेलाडीले फरक अनुभव लिन सक्नुहुनेछ,” आचार्यले बताए । उनका अनुसार ‘बि फोर स्नोकर एण्ड पुल हाउस’ बिहान ६ बजेदेखि साँझ १० बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थी, युवा, खेलप्रेमी तथा सबै उमेर समूहका व्यक्तिहरूले सुरक्षित र शान्त वातावरणमा खेल खेल्न सक्ने गरी व्यवस्था गरिएको उनले जानकारी दिए ।
स्नोकर तथा पुल खेल शारीरिकभन्दा बढी मानसिक एकाग्रता, धैर्यता र रणनीति आवश्यक पर्ने खेल भएकाले युवालाई सकारात्मक क्रियाकलापतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ । सञ्चालनमा आएको यस स्नोकर हाउसले धनगढीका खेलप्रेमीहरूलाई थप सुविधा दिने अपेक्षा गरिएको छ । स्थानीय व्यवसायी तथा युवाहरुले पनि धनगढीमा आधुनिक र व्यवस्थित स्नोकर एण्ड पुल हाउस भित्रिनु शहरको मनोरञ्जन क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

