धनगढी। अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने मूल नारासहित धनगढीमा बहुपक्षीय अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशिता र सामाजिक पहुँचलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा शिक्षा, समावेशिता, विपद् व्यवस्थापन तथा अपाङ्गता मानव अधिकारका विषयमा सरोकारवालाबीच गहन छलफल र अन्तरक्रिया गरिएको थियो। अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका चुनौती, राज्यको भूमिका, स्थानीय तहको जिम्मेवारी तथा नागरिक समाजको योगदानबारे वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रम संयोजक नन्दराज भट्टका अनुसार अपाङ्गता दिवसको अवसर पारेर मंसिर १४ गतेदेखि १७ गतेसम्म विभिन्न प्रतियोगिता आयोजना गरिएको थियो। ती प्रतियोगिताको समापनका रूपमा आज आयोजित औपचारिक कार्यक्रममा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरिएको हो।
सञ्चारकर्मीहरू पनि सम्मानित
अपाङ्गता भएका व्यक्तिको पक्षमा निरन्तर खबरदारी र सकारात्मक सूचना प्रवाहमा योगदान पुर्याएको भन्दै तीन जना सञ्चारकर्मीलाई विशेष सम्मान गरिएको छ। सम्मानित हुनेमा नेपाल टेलिभिजन कैलाली संवाददाता तथा स्टेट सेभेनका सञ्चारकर्मी दिनेश बिष्ट, सुदूरपश्चिम टाइम्सका सञ्चालक रमेश ऐडी र बी प्लस मिडियाका सञ्चारकर्मी सुरज राना रहेका छन्। उनीहरूलाई धनगढीमा आयोजित अपाङ्गता दिवसको कार्यक्रममा सम्मानित गरिएको हो।
“समावेशी विकास बिना समानता सम्भव छैन” : पाठक
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सांसद तथा सामाजिक विकास समितिका सदस्य धर्मराज पाठकले अपाङ्गता भएका व्यक्तिको सम्मानजनक जीवन, सबै क्षेत्रमा पहुँच, समावेशी शिक्षा तथा विपद् जोखिममा उनीहरूको सुरक्षाका लागि राज्य, समुदाय र संस्थाहरूबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले आफूले पटक–पटक प्रदेशसभामा अपाङ्गता भएका व्यक्तिको हक–अधिकारका विषयमा आवाज उठाए पनि नीतिगत रूपमा अपेक्षाकृत प्रगति हुन नसकेको गुनासो गरे। “मैले प्रदेशसभामा पनि भन्ने गरेको छु, विकास व्यक्तिका लागि हुने हो भने त्यो विकास समान होस्, ताकि फरक क्षमताका व्यक्तिहरूले समेत त्यसको उपभोग गर्न सकून्,” पाठकले भने।
कार्यक्रम संयोजक नन्दराज भट्टले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, स्वयंसेवक, सरोकारवाला निकाय र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। उनले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, क्षमता अभिवृद्धि र समावेशी समाज निर्माणका लागि निरन्तर पहल गरिने बताए। कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूका समस्या, सम्भावना र राज्यको दायित्वबारे साझा बुझाइ निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम राज भट्टले समाबेशिता तथा बिपत ब्यस्थापनमा अपाङ्गता भएका ब्यक्तिहरुको सहभागीता सम्बन्धमा डिआइडि मिसनका नन्दराज भट्टले कार्य पत्र प्रस्तुति गरेका थिए ।


