धनगढी: सुदूरपश्चिम प्रदेशमा युवा नीति निर्माण प्रक्रिया अघि बढाउन प्रदेश युवा परिषद्को आयोजनामा तथा युएनएफपिए सहित विभिन्न साझेदार संस्थाको सहयोगमा ‘युवा सहभागिता संवाद कार्यक्रम’ धनगढीमा सम्पन्न भएको छ। प्रदेशभरिबाट आएका युवाहरूको सहभागितामार्फत नीतिका खाका (ड्राफ्ट) माथि विस्तृत छलफल र सुझाव संकलन गर्न कार्यक्रम केन्द्रित थियो।
कार्यक्रमका अध्यक्ष प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावद रहे। मुख्य अतिथिमा संविधानसभा सदस्य एवं पूर्व राज्य मन्त्री महालक्ष्मी (डिना) उपाध्याय उपस्थित थिइन्। संविधानसभा सदस्य योगेन्द्र चौधरी कार्यक्रमका बिशिष्ट अतिथि थिए। सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, युवा–बिषयक विज्ञ डा. दिपेश घिमिरे लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
युवा नीतिको ड्राफ्ट प्रस्तुत, सुझाव संकलन
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको युवा नीतिको प्रारम्भिक मस्यौदा (ड्राफ्ट) प्रस्तुत गर्दै सहभागी युवाहरूबाट प्रत्यक्ष सुझाव संकलन गरिएको थियो। युवाहरूले नीति निर्माणमा ढिलाइ हुँदै आएको भन्दै तीनै तहका सरकारलाई छिटो निति पारित गरी लागू गर्न सुझाव दिए।
युवाका सवाल र भूमिकामाथि प्रस्तुतीकरण
युवा–बिषयक अनुसन्धानकर्ता तथा विज्ञ डा. दिपेश घिमिरे लगायतले सुदूरपश्चिमका युवाहरूका मुख्य समस्याहरू, अवसरका क्षेत्रहरू, युवाको भूमिका तथा राज्यका प्राथमिकताबारे महत्वपूर्ण प्रस्तुती दिएका थिए। प्रस्तुतिमा रोजगारी, उद्यमशीलता, शिक्षा, नेतृत्व क्षमता विकास, प्रविधि तथा सामाजिक विषयमा युवाको पहुँच र सहभागिता विस्तार गर्नुपर्नेमा जोड दिइयो।
प्रदेशभरिका युवाको प्रतिनिधित्व
सुदूरपश्चिमका नौवटै जिल्लाबाट आएका युवाहरूले नीति निर्माणमा समावेश हुनुपर्ने विषयमा धारणा राख्दै व्यापक सहभागिता जनाएका थिए। उनीहरूले नीति युवा–मैत्री, व्यवहारिक र कार्यान्वयनशील हुनुपर्नेमा जोड दिए। कार्यक्रमले प्रदेश सरकारले बनाइरहेको युवा नीतिलाई युवा दृष्टिकोणसहित परिमार्जन र प्रभावकारी कार्यान्वयनतर्फ महत्वपूर्ण योगदान गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।


