धनगढी – चिसो मौसम तीव्र बन्दै गएसँगै “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले यस वर्षको न्यानो कपडा वितरण कार्यक्रम पुनः धनगढीबाट प्रारम्भ गरेको छ। सामाजिक सेवामा सक्रिय यो अभियानले हरेक वर्ष जस्तै यस पटक पनि विपन्न तथा असहाय नागरिकलाई लक्षित गर्दै राहत वितरण सुरु गरेको हो। अभियानका संयोजक घनश्याम भट्टका अनुसार कार्यक्रमको पहिलो चरण धनगढीस्थित निङ्गलासैनिक गुरुकुल संस्कृत विद्यापिठबाट प्रारम्भ गरिएको हो। अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा विद्यापिठका आश्रित बालबालिकालाई ट्र्याकसुट, टी–सर्ट, ब्लाङ्केटसहित खिर भोजन वितरण गर्दै अभियानले आफ्नो वार्षिकोत्सव पनि मनाएको बताइएको छ।
संयोजक भट्टका अनुसार सुदूरपश्चिम प्रदेशभरिका गरिब, विपन्न, टुहुरा तथा अशक्त परिवारलाई लक्षित गर्दै यो वर्ष पनि सहयोग कार्यक्रमलाई निरन्तरता दिइने लक्ष्य राखिएको छ। उनले भने, “समाजमा सेवाभाव, सकारात्मक सोच र संस्कृतिको जगेर्ना गर्न अभियानले महत्वपूर्ण भूमिका खेलेको छ, यही उद्देश्यसहित हामीले सहयोगको दायरा थप विस्तार गर्दैछौं।”
गत वर्ष अभियानमार्फत धनगढी, डडेल्धुरा, बैतडीलगायतका जिल्लाका विद्यालय, आश्रम र विपन्न परिवार गरी १५ सयभन्दा बढी व्यक्तिलाई न्यानो लुगा तथा खाद्यान्न वितरण गरिएको अभियान नेपालले जनाएको छ। यस वर्ष पनि तापक्रम झर्दै जाँदा असहाय परिवारलाई राहत पुर्याउने उद्देश्यसहित अभियानले वितरण कार्यक्रमलाई चरणबद्ध रुपमा अन्य स्थानीय तह र दुर्गम बस्तीमा विस्तार गर्ने तयारी गरेको छ।


