धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गरेका छन् ।
मङ्गलबार धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधनका लागि आज धनगढी आइपुग्नुभएको उहाँले सीमा नाका पुगेर अनुगमन गर्नुभएको हो । अर्यालसँगै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सहसचिव, उपसचिवसहित सीमा नाकामा पुग्नुभएको हो ।
प्रदेशको सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनको सम्बन्धमा प्रदेश सरकारको तर्फबाट प्रतिवेदन पेस गर्न भोलि धनगढीमा सुरक्षा गोष्ठी आयोजना गरिदैँछ ।
गोष्ठीका लागि आज गृहसचिव रामेश्वर दङ्गाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाको बलाधिकृत रथी प्रदीपजङ्ग केसी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीसमेत धनगढी पुग्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले गेटा अस्पतालको अवलोकन गरेका छन । उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसममा रहेको अस्पताल र विश्वविद्यालय परिसरको अवलोकन गरेका हुन् ।
धनगढी विमानस्थलबाट सुरूमै गेटा स्थित गेटा अस्पतालमा पुगेका उनले अस्पतालको अनुगमन गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । गृहमन्त्रीले अवलोकनकै क्रममा अस्पतालको बारेमा त्यहाँ कार्यरत चिकित्सकहरूले सामान्य जानकारी गराएका थिए ।

