धनगढी । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेलाई देशका सबै पार्टीहरूको ‘पार्टी’का रूपमा स्थापित भएको दाबी गरेका छन्। धनगढीमा आयोजित युवा जागरण भेलालाई सम्बोधन गर्दै उनले राष्ट्र, राष्ट्रियता र देशभक्तिको विषयमा एमाले नै सधैं अडिग रहने एक मात्र दल भएको बताएका हुन्। गुरुङका अनुसार देशी–विदेशी शक्तिसामु नझुक्ने स्पष्ट राजनीतिक चरित्र एमालेको पहिचान हो र त्यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले प्रभावकारी ढङ्गले गर्दै आएका छन्।
“अहिलेको परिस्थितिमा एमाले र देश दुवैका लागि ओलीजी नै निर्बिकल्प नेता हुनुहुन्छ,” उनले भने, “देशी–विदेशी शक्ति केन्द्रहरूका अगाडि नथुकेकै कारण ओलीजीमाथि विभिन्न षड्यन्त्र र राजनीतिक धक्का लागेका हुन्। त्यसैले पार्टी र देशको नेतृत्व फेरि ओलीलेनै लिनुपर्छ।” उनले जेनजीका नाममा केही विदेशी स्वार्थ बाध्यकारी समूहहरू सक्रिय भएको आरोप लगाउँदै त्यस्ता गतिविधिले देशलाई कमजोर बनाउने खतरा देखिएको बताए। सरकार जेनजीका मागभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले अहिलेको संरचनाबाट समाधान सम्भव नभएको उनले दाबी गरे।
“जेनजीका वैध माग समाधान गर्न संसद् पुनर्स्थापना गरेर सर्वपक्षीय सरकारको आवश्यकता छ,” गुरुङले भने, “संविधान संशोधनमार्फत ती मुद्दाहरू स्थापित गर्नुपर्छ।”
ओली नझुकेकै कारण सत्ताबाट हटाइयो : सचिव भट्ट
कार्यक्रममा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पनि अध्यक्ष ओली विदेशी शक्तिसँग सम्झौता गर्न नमानेकाले सत्ताबाट हटाइएको दाबी गरे। “एमाले सही नीतिसहित सही नेतृत्वमा छ, त्यसैले अहिले पार्टीमाथि निरन्तर आक्रमण भइरहेको छ,” भट्टले भने, “एमालेका विरुद्ध हुने राजनीतिक तथा प्रचारात्मक आक्रमणको प्रतिरोध सबैले दृढतापूर्वक गर्नुपर्छ।”
जेनजीका नाममा देश अस्थिर पार्ने खेल: बस्नेत
एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजीका नाममा केही ‘विदेशी दलाल’ अहिलेसमेत सक्रिय रहेको आरोप लगाए। बालेन शाह, रवि लामिछानेलगायत नेताहरूले जनयुद्धको नाममा देशलाई अस्थिर पार्ने प्रयास गरेको उनको आरोप थियो। “देश बनाउने सामर्थ्य एमालेबाहेक कसैसँग छैन,” बस्नेतले भने, “संसद् पुनर्स्थापना भएपछि हुने आगामी निर्वाचनमा एमालेकै नेतृत्वमा नयाँ सरकार बन्नेछ।”
कार्यक्रममा युवा सङ्घ नेपालका नेताहरू तथा एमालेका विभिन्न तहका जिम्मेवार व्यक्तिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पार्टी संगठन सुदृढीकरण, राष्ट्रियता तथा आगामी राजनीतिक दिशाबारे प्रतिवद्धता व्यक्त गरेका थिए।

