कञ्चनपुर: कञ्चनपुरस्थित महाकाली नदीमा एक युवक बेपत्ता भएका छन्। मंगलबार भीमदत्त नगरपालिका– १२ ऐरी ओदालीका २३ वर्षीय रोशन दमाईं चारलेन महाकाली पुलनजिकैबाट बेपत्ता भएका कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बताए। दमाईं घरबाट दिउँसो बयर टिप्न नदीतिर हिँडेका थिए। नुहाउने क्रममा उनी बेपत्ता भएका बताइएको छ। हिउँदमा महाकाली नदीको बहाव कम हुने भए पनि दमाईं बेपत्ता भएका हुन्। भारतमा बस्दै आएका उनी केही दिनअघि मात्रै घर आएका थिए।
गोताखोर नहुँदा दमाईंलाई खोज्न समस्या भएको प्रहरीले जनाएको छ। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयले उनको खोजी गरिरहेका छन्।

