काठमाडौँ — सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पार्दै क्वालिफायर १ तर्फ अगाडि बढेका छन् । गत वर्षको उपविजेता सुदूरपश्चिमले सोमबार कर्णाली याक्सलाई ४५ रन र विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरे । पहिलो तीन खेल जित्ने यी दुई टोली शीर्ष दुई स्थानमा छन् । प्रतिस्पर्धी ८ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । त्यसमध्ये शीर्ष दुई टोलीले फाइनल पुग्न खेल्नेछन् ।
कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गर्दै सुदूरपश्चिमलाई जिताए । उनले ४ विकेट लिएपछि १ सय ४० रनको लक्ष्य पाएको कर्णाली कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको फ्लडलाइटमा १९.२ ओभरमा ९४ रनमै अलआउट भयो । यस सिजनको एनपीएलमा यो सबैभन्दा न्युन स्कोर हो । ब्याटिङमा रोयल्सको इनिङ्स जमाएका प्लेयर अफ द म्याच दीपेन्द्रले ४ ओभरमा २३ रन खर्चेर उत्कृष्ट बलिङ प्रदर्शन गरे । दीपेन्द्रले पावरप्लेमै ३ ओभर बलिङ गर्दै ३ विकेट लिए । इनिङ्सको दोस्रो तथा आफ्नो पहिलो ओभरमा उनले प्रियान्क पाञ्चललाई शून्यमा स्टम्पआउट गराए । त्यसपछि उनले अघिल्लो खेलमा शतक बनाएका मार्क वाटलाई १७ र नाजिबुल्लाह जाद्रानलाई १ रनमा एलबीडब्लू आउट गरे ।
अघि हेमन्त धामीले विलियम बोसिस्टोलाई ३ रनमा विकेट पछाडि क्याच गराएपछि पहिलो पावर प्लेको अन्तिम ४ बल खेल्न कर्णालीका कप्तान सोमपाल आफै आए । आफ्नो टोलीले कमजोर ब्याटिङ गरे पनि कर्णालीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्न्यातले बोसिस्टोलाई आउट दिएको अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाए । सोमपालले इनिङ्स बसाउने प्रयास गर्दै १६ बलमा १४ रन बनाए पनि हरमित सिंहको बलमा कट एन्ड बोल्ड भए । पवन सर्राफले कर्णालीबाट सर्वाधिक २७ रन बनाए । उनले २६ बल खेल्दै ४ चौका प्रहार गरे । गुलशन झा र अर्जुन घर्ती समान १३, नन्दन यादव १ र युवराज खत्री शून्यमा आउट भए । हरमितले ४ ओभरमा १९ र अविनाश बोहराले ३।२ ओभरमा १९ रन खर्चेर २–२ तथा स्कट कुग्लेइन र हेमन्त धामीले १–१ विकेट लिए ।
यसअघि सोमपालले उत्कृष्ट बलिङ गरेपछि टस हारेपछि ब्याटिङ निम्तो पाएको सुदूरपश्चिमले ९ विकेट गुमाई १ सय ३९ रन बनायो । सोमपालले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए । उनले पहिलो बलमै जोस ब्राउनलाई बोल्ड गरे । दीपेन्द्र र हरमितले छैटौं विकेटमा आक्रामक ब्याटिङ गरिरहेको समयमा सोमपालले नै हरमितको लेग स्टम्प उडाइदिएर ४८ रनको साझेदारी तोडे । सोमपालको तेस्रो विकेट नेपाली क्रिकेटमा दुर्लभ नै रह्यो । उनले आफ्नो अन्तिम ओभरमा नरेन साउदलाई हिट विकेट गराए । सोमपालबाहेक नन्दनले ३ ओभरमा ११ रन खर्चेर २ तथा वाट, विपिन शर्मा र युवराजले १–१ विकेट लिए । कप्तान दीपेन्द्रले सर्वाधिक ३९ रन बनाए । उनले २८ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । हरमितले १६ बलमा समान १ चौका र छक्कासहित १९ रन बनाए ।
ब्राउन पहिलो बलमै आउट भएपछि सुदूरले अधिकांश समय दबाबमा खेल्यो । ओपनिङ जोडी विनोद भण्डारीले १३ बलमा १ चौकासहित ११ रन बनाए । क्रिस लिनले २० बलमा २ चौकासहित १८ रन जोडे । इशान पाण्डे २ रनमा रनआउट भए । तल्लोक्रममा कुग्लेइन १० र नरेन शून्यमा आउट भए । हेमन्त र अविनाश १–१ रनमा अविजित रहे ।
सन्दीपको उत्कृष्ट बलिङ
कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विराटनगर किंग्सले जित यात्रामा निरन्तरता दिएको थियो । सन्दीपले ४ विकेट लिएपछि १ सय ३६ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो । सन्दीपले ४ ओभरमा ११ रनमात्र खर्चे । सूर्य तामाङले ४ ओभरमा २० रन खर्चेर २ तथा मर्च्येन्ट डी ल्याङ्गे र शुभम रञ्जनेले १–१ विकेट लिए । जनकपुरका ओपनर आसिफ शेख १३ रनमा आउट भए । कप्तान अनिल साहले १४ बलमा ४ रनमात्र जोड्न सके । लाहिरू मिलान्था २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा आउट भए ।
सञ्जय कृष्णमूर्तिले १२ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए । मयन यादव ४ रनमै आउट भए । यान निकाले लफ्टी इटनले जनकपुरबाट सर्वाधिक ४१ रन बनाए । अन्तिम ओभरमा रनआउट उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । क्गमगचउबकअजष्m च्यथबकि बलम द्यष्चबतलबनबच प्ष्लनक अयिकभ तय त्रगबषिष्भचकयसअघि टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले १३५–७ को स्कोरमात्र बनाउन सक्यो । शुभम रञ्जनेले सर्वाधिक ३७ रन बनाए । उनले २९ बलमा समान २ चौका र छक्का प्रहार गरे । बसिर अहमदले ३५ बलमा ३ छक्कासहित ३६ रन बनाए । ओपनर लोकेश बमले २८ बलमा २ चौका र १ छक्कासहित २६, जर्ज मुन्सीले १०, मार्टिन गप्टिलले १३ रन बनाए । नारायण जोशी २ र डी ल्याङ्गे शून्यमा आउट भए । प्रतिश जिसी २ रनमा अविजित रहे । जनकपुरका संगीत कोरेले ४ ओभरमा २६ र रुपेश सिंहले २ ओभरमा १२ रन खर्चेर २–२ तथा आदित्य महताले १ विकेट लिए ।
जनकपुरले टेस्ट कोटा नपाउँदा स्टार अलराउन्डर जिम्मी निसम पोखरा लागेपछि च्याम्पियन टोलीको प्रदर्शन त्यसअनुरुप हुन सकिरहेको छैन ।


