धनगढी: सुदूरपश्चिम प्रदेशमा होटल तथा आतिथ्य क्षेत्रप्रति लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। प्रदेशको राजधानी धनगढीमा पछिल्लो समय साना आवासगृहदेखि ठूला तारे होटल निर्माणसम्मको गतिविधि तीव्र हुँदै गएको छ, जसले यहाँको पर्यटन व्यवसायले नयाँ फड्को मार्न लागेको संकेत दिएको छ। धनगढीमा चहलपहल बढेसँगै होटल व्यवसाय विस्तार पनि अभूतपूर्व गतिमा अघि बढिरहेको छ। विगतमा एक पनि तारे होटल नभएको धनगढीमा अहिले लगातार दुई तारे होटल निर्माण अन्तिम चरणमा पुगेका छन्। नैनादेवी चोकमा निर्माणाधीन ‘होटल सनलाइट’ ले आगामी वैशाखदेखि ४–तारे होटलका रूपमा सेवा सुरु गर्ने तयारीलाई अन्तिम रूप दिँदैछ।

होटलका सञ्चालक कलम बमका अनुसार, क्यासिनो बारसहितको अत्याधुनिक ४–तारे होटल सञ्चालनले धनगढीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ। “हामी प्रदेशकै मानक बढाउने होटल सेवा ल्याउँदैछौं। सेवा सुरु भएपछि यहाँको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थपिनेछ,” उनले बताए। यसैगरी, धनगढीकै प्रतिष्ठित चौलानी ग्रुपले पुरानो भवन हटाएर आधुनिक ५–तारे होटल निर्माण कार्यलाई तीव्रता दिएको छ। सुदूरपश्चिममा पहिलोपटक उच्चस्तरीय सेवा दिने लक्ष्यसहित गरिएको यो लगानी प्रदेशको दीर्घकालीन पर्यटन सम्भावनासँग प्रत्यक्ष रूपमा जोडिएको छ।
नेपालकै अग्रणी होटल ब्रान्ड ‘सिद्धार्थ ग्रुप’ ले केही दिनअघि धनगढी चौराहाबाट सेवा प्रारम्भ गरेसँगै प्रतिस्पर्धी वातावरण झनै तीव्र भएको छ। त्यस्तै, करिब १० करोड रुपैयाँको लगानीमा निर्माण भएको नेचुरा रिसोर्ट पनि आइसकेको छ । प्राकृतिक वातावरणमा आधारित आधुनिक हस्पिटालिटी सेवा दिने उद्देश्यसहित रिसोर्ट तयार पारिएको सञ्चालक मदन भट्टले जानकारी दिए।
होटल व्यवसायीहरुले धनगढी प्रदेशको राजधानी भएकाले यहाँ उच्चस्तरीय होटल अनिवार्य रहेको बताएका छन्। होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयका अनुसार धनगढीमा पछिल्ला वर्षहरूमा साना देखी ठूला होटलमा लगानी तीव्र रूपमा बढिरहेको छ। “राजनीतिक स्थिरता र शान्ति–सुरक्षा कायम भए पर्यटन क्षेत्रले अझै तीव्र गतिमा प्रगति गर्छ,” पाण्डेयले भने। संघका अनुसार सुदूरपश्चिममा हालसम्म होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। यसका माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५० हजारभन्दा बढी स्थानीयले रोजगार पाए गरेका छन्। विशेषगरी भारतीय पर्यटकलाई लक्षित गर्दै धनगढीमा होटल निर्माणमा लगानी बढिरहेको उनीहरू बताउँछन्।
तर, भारत–नेपाल सीमानाका केही बिन्दुहरूमा सहज आवागमन नहुनु र धनगढीमा राति १० बजेभित्रै बजार बन्द गर्नुपर्ने प्रशासनिक निर्देशनले पर्यटन व्यवसायले अपेक्षित फाइदा उठाउन नसकेको होटल व्यवसायीहरूको गुनासो छ। उनीहरूका अनुसार रात्रीकालीन गतिविधिमा रोकावटले भारतीय पर्यटक आकर्षणमा कमी ल्याएको छ। लगातार बढिरहेको लगानी र उच्चस्तरीय होटलहरूको विस्तारले धनगढी तथा सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।


