धनगढी: यस वर्ष कैलालीमा ३ लाख ८ हजार मेट्रिकटन अर्थात् ३० लाख ८० हजार क्विन्टल धान उत्पादन भएको छ । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले झण्डै ३८ हजार क्विन्टल धान किनेर खरिद बन्द गरिदिएको छ । खाद्यले ३५ हजार क्विन्टल मात्रै धान खरिदको कोटा निर्धारण गरेकोमा कोटाभन्दा ३ हजार क्विन्टल धान बढी खरिद गरिएको हो । सरकारले उत्पादनको २ प्रतिशत पनि धान खरिद नगर्दा कैलालीका किसान धान नै बिक्री नहुने चिन्तामा छन् ।
कैलालीका किसान प्रेमलाल चौधरी धान बिक्री गर्न धनगढीको मोहनपुरस्थित खाद्यको खरिद केन्द्रमा एक सातासम्म धाएर पनि धान बिक्री नभएको गुनासो गर्छन् । ‘खरिद केन्द्रका कर्मचारीले भोलि आउनु भन्दै फर्काइरहे,’ उनले भने, ‘अन्ततः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले सूचना जारी गर्दै कोटाअनुसार धान खरिदका लागि कुपन वितरण भइसकेको भन्दै किसानलाई खरिद केन्द्रमा भिड नगर्न आग्रह गर्यो । उत्पादित धान नै बिक्री नहुने चिन्ता छ ।’ हुन त कैलालीमा गल्ला व्यापारीले पनि धान खरिद गरिरहेका छन् । तर, व्यापारीलाई धान बेच्दा लगानी पनि नउठ्ने चिन्ता चौधरीको छ । ‘गल्ला व्यापारीहरूले समर्थन मूल्यभन्दा एक हजार कममा धान खरिद गर्छु भन्दै छन्,’ चौधरीले भने, ‘यसरी हाम्रो लगानी पनि उठ्दैन । खाद्यले नै समर्थन मूल्यमा उत्पादित सबै धान खरिद गरिदिनुपर्यो ।’
कैलालीका अगुवा किसान नेत्र भण्डारी सरकारले धान खरिद नगर्दा गल्ला व्यापारीको मनोमानी भएको बताउँछन् । ‘पहिले त व्यापारीले पनि दुई हजार पाँच सयसम्म प्रतिक्विन्टल धानको दिइरहेका थिए,’ भण्डारीले भने, ‘खाद्यले धान खरिद सुरु गरेर बीचमै छोडेपछि अहिले दुई हजारमै धान किनिरहेका छन् ।’ खाद्यले उत्पादनको २ प्रतिशत मात्रै धान खरिद गरेर किसानलाई जिस्क्याउने मात्रै काम गरेको उनी बताउँछन् । कैलालीमा खाद्यले १२ कात्तिकदेखि धान खरिद सुरु गरेको थियो । खाद्यको प्रादेशिक कार्यालयले तत्काल थप धान खरिद गर्न सक्ने अवस्था नरहेको भन्दै किसानलाई बिक्रीका लागि नआउन सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ । तर, खाद्यका खरिद केन्द्रमा किसानको दैनिक भिड अझै पनि लाग्ने गरेको छ । प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर केन्द्रबाट पठाइएको थियो ।
‘कोटाभन्दा झण्डै तीन हजार क्विन्टल बढी धान खरिद भइसकेको छ,’ थापाले भने, ‘केन्द्रले कोटा बढाएर नपठाउँदासम्म धान खरिद गर्न सक्ने अवस्था छैन ।’ कैलालीमा टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर केन्द्रबाट धान खरिद गरिएको हो । नेपाल सरकारले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३।८१ रुपैयाँ तोकेको छ । सोही मूल्यमा खाद्यले धान खरिद गरेको हो । तर, गल्ला व्यापारीले भने समर्थन मूल्यभन्दा एकदेखि डेढ हजार कममा धान खरिद गर्ने गरेका छन् ।
व्यापारीले पनि दुई हजारदेखि दुई हजार पाँच सयसम्ममा प्रतिक्विन्टल धान खरिद गरिरहेका छन् । उक्त मूल्यमा धान नपाए किसानद्वारा उत्पादित धान नै खरिद नगर्ने धम्की गल्ला व्यापारीको छ । ‘हामी धान नै खरिद गर्दैनौँ, भारतमा सिधै चामल ल्याएर बिक्री गर्छौं,’ जिल्ला प्रशासन कार्यालयको छलफलमा गल्ला व्यापारीले धम्की दिँदै भनेका थिए ।
‘हामीले प्रतिक्विन्टल दुई हजार पाँच सयमा धान खरिद गर्दा पनि घाटा छ,’ गल्ला व्यापारी ओमप्रकाश अग्रवालले भने, ‘यहाँ मोटो धान मात्रै उत्पादन गरिएको छ । नेपालीहरूले मोटो चामलको भात खानै छोडिसके, जसका कारण किसानबाट खरिद गरेको धान बिक्री नै हुँदैन । गत वर्ष खरिद गरेको झण्डै ८० प्रतिशत धान अहिलेसम्म पनि बिक्री भएको छैन ।’ उनले समर्थन मूल्य तोक्ने सरकारले नै किसानको धान पनि खरिद गर्नुपर्ने तर्क गरे ।

