धनगढी – भारतको हरिद्वारस्थित प्रेमनगर आश्रममा आयोजना हुन लागेको अष्टोत्तर महायज्ञमा नेपालबाट सहभागी हुन आग्रह गरिएको छ। धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्था हरिकृपा फाउण्डेशनले महायज्ञमा धर्मप्रेमी नेपालीहरूले व्यापक सहभागिता जनाउन अनुरोध गरेको हो।
फाउण्डेशनकी सदस्य हेमन्ता भट्टराईका अनुसार मंसिर ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महायज्ञका लागि नेपालबाट सहभागीहरू सहज रूपमा सहभागी होस् भन्ने उद्देश्यले निःशुल्क बसको व्यवस्था गरिएको छ। उनका अनुसार पहिलो बस मंसिर ६ गते बिहान नेपालगञ्जबाट प्रस्थान गर्नेछ। कैलाली–कञ्चनपुरका भक्तजनले विशेष रूपमा सहभागीता जनाउने अपेक्षा गरिएको उनले बताइन्। पित्रिमोक्ष तथा आत्मकल्याणका उद्देश्यले आयोजना गरिएको यस महायज्ञमा विशेष प्रवचन, धार्मिक अनुष्ठान तथा विविध आध्यात्मिक क्रियाकलाप हुने बताइएको छ। फाउण्डेशनका प्रतिनिधिहरूका अनुसार कार्यक्रममा जुट्ने दान तथा सहयोग राशिबाट भारतको वृन्दावनमा नेपाली धर्मावलम्बीहरूका लागि आश्रम निर्माण गर्ने योजना छ।
धार्मिक, सांस्कृतिक तथा आत्मिक भलत को दृष्टिले महत्त्वपूर्ण मानिएको अष्टोत्तर महायज्ञमा धेरैभन्दा धेरै नेपाली भक्तजन सहभागी भएर आध्यात्मिक लाभ लिन आयोजकले आग्रह गरेको छ।

