धनगढी । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेति समेतले गरेको अपरेसनमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहररूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा से ६ प ७५९४ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिका –५, गेटा बस्ने २० वर्षीय विजय बिष्ट, पछाडि सवार २५ वर्षीय राज चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए ।
उनकाअनुसार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय मालाखेती तथा प्रहरी चौकी गेटाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पछाडि सवार चौधरीले लगाएको शर्टको खल्तीमा कालो प्लास्टिकमा बेरिएको अवस्थामा ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको हो । दुवैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

