धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह हाल प्रदेश दौडाहामा रहेका छन्। प्रदेशका सबैजसो जिल्लाको सदरमुकाम पुगेर स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरू, कर्मचारी तथा सर्वसाधारणसँग छलफल र अन्तरक्रिया गर्न कात्तिक २१ गते धनगढीबाट निस्किएका मुख्यमन्त्री शाहले प्रदेशका पाँच जिल्लाको भ्रमण सकिसकेका छन्। शाहले डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र अछाम जिल्लाको भ्रमण पूरा गरेका छन्। उनका अनुसार बझाङ र बाजुरासमेत पुग्ने योजना रहे पनि समय अभावका कारण तत्काल सम्भव नहुने देखिएको छ। ती जिल्लामा पनि चाँडै पुग्ने तयारी भइरहेको उनले बताएका छन्।
मुख्यमन्त्री शाहले आफ्नो भ्रमणलाई चार प्रमुख उद्देश्यसँग जोडेका छन्—अन्तरतह र कार्यालयबीचको सहकार्य, ऐन–कानुनमा देखिएका समस्या, योजना कार्यान्वयनको अवस्था र शान्ति–सुरक्षाको समग्र मूल्याङ्कन। उनले भने, “जेनजी आन्दोलनपछि संविधान र संघीय संरचनामाथि प्रश्न उठ्न थालेको छ, यस्तो बेला सबै तहका प्रतिनिधि र नागरिकसँग प्रत्यक्ष संवाद आवश्यक छ।” भ्रमणका क्रममा शाहले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको कमी रहेको निष्कर्ष निकालेका छन्। विभिन्न जिल्लामा भएका अन्तरक्रियाबाट प्राप्त सुझावलाई संकलन गरी समस्या समाधानका उपाय प्रदेश सरकारले अघि सार्ने उनको भनाइ छ।
विकास निर्माण र सुशासनका विषयमा शाहले मातहत निकायहरूलाई कडा निर्देशन दिएका छन्। योजना कार्यान्वयनमा देखिएको बेथितिलाई रोक्न उनले स्पष्ट कार्यतालिका बनाएर अघि बढ्न निर्देशन दिएका छन्। विकासमा देखिएको भ्रष्टाचारको जड मानिने उपभोक्ता समितिको अवधारणालाई निरुत्साहित गर्ने नीति प्रदेश सरकारले लिएको पनि उनले स्पष्ट पारे।
भ्रमणका क्रममा शाहले राजनीतिक सन्देशहरू पनि दिएका छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा उनले देउवालाई “देशलाई पाँच पटक नेतृत्व गर्ने व्यक्तित्व” भन्दै “यो भूमि पवित्र छ” भन्ने अभिव्यक्ति दिएका थिए। उनले देउवाको योगदानलाई स्मरण गर्दै भने, “जनताको अधिकारका लागि देउवाले सधैँ संघर्ष गर्नुभयो, कहिल्यै विचलित हुनुभएन।” साथै, उनले भने, “सभापति देउवा र नेतृ आरजु राणा देउवालाई सिद्ध्याउने दिवास्वप्न देख्नेहरूले विगतमा पनि सफल भएनन्, भविष्यमा पनि हुन सक्दैनन्।”
भ्रमणका क्रममा शाहले पार्टीभित्रको विवादबारे पनि धारणा राखे। डोटीमा आयोजित कार्यक्रममा उनले कांग्रेसभित्र संवाद र सहमतिबाट समस्या समाधान खोज्नुपर्नेमा जोड दिए। उनले भने, “पार्टीभित्र उत्पन्न अन्तरविरोध मिलाउन महासमिति बैठक अविलम्ब बोलाइनुपर्छ।” उनका अनुसार सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्षमा छन्, तर यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा पुर्याउने छैन। झन्डै एक साता लामो प्रदेश दौडाहाको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिमका जनप्रतिनिधि र नागरिकसँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन, राजनीतिक स्थायित्व र पार्टी एकताको सन्देश दिएका छन्।

