धनगढी: नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिस्ट पार्टीमा जाने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ अग्रसर’ भएको भन्दै शाहले नेपाली कम्युनिस्ट पार्टीमा जाने बताएका हुन् । उनी भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने तयारीमा छन् । अघिल्लो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भएका शाह एमाले सुदूरपश्चिमका संसदीय दलको नेता थिए । उनी चार वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व गरेका थिए ।
यता, एकीकृत समाजवादीका नेता प्रेम आले भने न एमालेमा गएका छन् न त एकीकरणपछिको नेपाली कम्युनिस्ट पार्टीमै देखिएका छन् । आलेलाई पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टीमा लाग्न र ओलीले एमालेमा फर्किन आग्रह गर्दै टेलिफोन गरेका थिए । तर, उनले दुवै नेतालाई आफूले निर्णय लिन बाँकी रहेको जवाफ फर्काएका छन् ।
आलेले आगामी राजनीतिक यात्राका विषयमा टुंगो लगाउन बाँकी रहेको बताए । ‘अहिले म प्रोस्टेटको शल्यक्रिया गरेर रेस्टमा छु,’ आलेले भने, ‘अहिले नै कतै लागेको छैन । पोखरा र भैरहवा विमानस्थलमा भ्रष्टाचार भएकाले छानबिनको मुद्दा मैले उठाएको थिएँ । कारबाहीको प्रतीक्षामा छु ।’ आलेले एमालेमा जाने सम्भावना भने नरहेको बताए । ‘एमालेमा जाने भए त म पहिले नै गइहाल्थेँ नि,’ आलेले भने । आले कांग्रेसमा जाने चर्चा पनि छ । तर, उनले कांग्रेसमा जाने सम्भावनाका विषयमा पनि अहिले नै भन्न नसकिने बताए ।
‘अब म केही समयभित्र खुल्छु,’ आलेले भने । एकीकृत समाजवादीबाट आले २०७९ सालको प्रतिनिधिसभा निर्वाचन डोटीबाट विजयी भएका थिए ।

