धनगढी । कैलालीमा लागुऔषध कारोबार र दुर्व्यसनको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको छ । जिल्लामा प्रायः प्रत्येक दिन लागुऔषध कारोबारमा संलग्न व्यक्ति र प्रयोगकर्ता पक्राउ पर्ने क्रम रोकिएको छैन । गत शनिबार मात्र विभिन्न ठाउँबाट १८ वर्षीय एक युवकसहित आठ जनालाई प्रहरीले लागुऔषधसहित नियन्त्रणमा लिएको छ, जसले जिल्लाको वर्तमान अवस्था कति गम्भीर छ भन्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका तथ्याङ्क अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागुऔषधसम्बन्धी मुद्दा, पक्राउ संख्या र बरामद हुने परिमाण निरन्तर बढ्दो क्रममा छन् ।
आर्थिक वर्ष २०७९/८० मा ३४७ मुद्दा दर्ता भई ५२२ जना पक्राउ परेका थिए । सो अवधिमा ७९२ ग्राम खैरो हेरोइन, ६७९ ट्याब्लेट नाइट्राभेट, ४८ किलो चरेश र १२०० क्याप्सुल नाइट्राजेपाम बरामद गरिएको थियो । त्यस्तै २०८०/८१ मा ३१५ मुद्दा दर्ता भई ४४७ जना पक्राउ परे । त्यो वर्ष पनि ३१ किलो चरेश, ३१३ ग्राम ब्राउन सुगर र अन्य प्रतिबन्धित औषधि बरामद भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा धेरै २०८१/८२ मा मुद्दा र पक्राउ दुवै बढे — सो वर्ष ४६९ मुद्दा दर्ता भई ६६२ जना पक्राउ परे । प्रहरीले करिब ७३ किलो चरेश, ७१८ ग्राम हेरोइन, झन्डै ४ किलो गाँजा, २ किलो अफिम र ७ हजारभन्दा बढी प्रतिबन्धित ट्याब्लेट बरामद गरेको थियो ।
छोटो अवधिमै ७६ मुद्दा
चालु आर्थिक वर्षको कात्तिक १९ गतेसम्ममै ७६ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । प्रहरीका अनुसार यो अवधिमा १०२ जना पक्राउ परेका छन् । १५३ ग्राम हेरोइन र ७ किलोभन्दा बढी चरेश बरामद भएको तथ्याङ्कले समस्या झन् जटिल बन्दै गएको देखाउँछ ।
ट्रान्जिट बन्दै कैलाली–कञ्चनपुर
प्रहरीका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाहरू भारतसँगको खुला सीमाका कारण लागुऔषध ओसारपसारको ‘ट्रान्जिट’ बन्दै गएका छन् । दैनिकजसो सीमा नाकामा हुने पक्राउ घटनाले भारतबाट ठूलो मात्रामा लागुऔषध नेपाल भित्रिने पुष्टि गर्छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले छिटो पैसा कमाउने लोभले युवाहरूलाई ओसारपसारतर्फ आकर्षित गरेको बताए । “महिला र किशोरीहरूको संलग्नता पनि पछिल्लो समय बढ्दै गएको छ,” उनले भने, “कतिपय अवस्थामा उनीहरूले लागुऔषध गोप्य अङ्गमा लुकाएर ल्याउने गरेका घटना पनि देखिएका छन् ।”
डीएसपी सिंहका अनुसार हाल पक्राउ पर्ने संख्या कुल संलग्नको झण्डै १० प्रतिशत मात्र हो । बाँकी ठूलो सञ्जाल प्रहरीको पहुँचबाहिर रहेको उनले बताए ।
शनिबारका घटनाले देखायो समस्या
शनिबार मात्रै धनगढी, लम्की र भजनी क्षेत्रमा आठ जना विभिन्न परिमाणको हेरोइनसहित पक्राउ परे । धनगढी–१३ बाट १.८ ग्राम हेरोइनसहित तीन जना, लम्की–चुहाबाट ४२० मिलिग्राम हेरोइनसहित दुई जना र भजनी–९ बाट ५४० मिलिग्राम हेरोइनसहित दुई जना पक्राउ परेका छन् । यी घटनाले जिल्लामा लागुऔषधको जरो कति गहिरो छ भन्ने स्पष्ट गर्छ ।
सामाजिक प्रभाव गम्भीर
लागुऔषधको फैलावटले कैलालीको सामाजिक संरचना नै हल्लिएको छ । युवा पुस्ता दुर्व्यसनमा फस्दै गएका छन् भने पारिवारिक कलह, हिंसा र सामाजिक अपराधमा समेत वृद्धि भएको छ ।

