धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकाले पत्रकार सुरेशसिंह धामीको उपचारका लागि ५० हजार रुपैयाँ दिने भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि भीमदत्त नगरपालिकाले उपचार खर्च दिने भएको हो । भीमदत्त नगरका मेयर पदम बोगटीका सचिवालय प्रमुख चक्र महताले महासंघका अध्यक्ष धामीको उपचारका लागि पालिकाका तर्फबाट उपचार खर्च उपलब्ध गराउने निर्णय भएको बताए । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष केही समयदेखि काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत छन् ।
धामीको पाचन प्रणालीसँग सम्बन्धित ग्रन्थी (प्यांक्रियाज) मा ट्युमर फेला परेपछि पहिलो चरणको शल्यक्रिया भएको र दोस्रो चरणका लागि अर्को अस्पताल एवं थप खर्च लाग्ने भएपछि उपचार खर्च अभाव भएपछि पालिकाले सहयोग गर्ने निर्णय गरेको छ । एमालेनिकट प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीको उपचारका लागि जिल्लाकै जेठो पालिकाले आर्थिक सहयोग गर्ने निर्णयअनुरूप खातामै रकम जम्मा गर्ने जनाएको छ ।
अपि टुटे दैनिक, अपिनम्पा साप्ताहितका सञ्चालकसमेत रहेका पत्रकार धामी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । भीमदत्त नगरका मेयर पदम बोगटीले जनतालाई सूचनाका हक–अधिकारका लागि अहोरात्र खटिने पत्रकारलाई उपचार गर्न रकम अभाव भएपछि पालिकाले अभिभावकीय रूपमा भूमिका निर्वाह गरेको बताए। कांग्रेस कञ्चनपुरका सभापतिसमेत रहेका मेयर बोगटीले समाजका लागि निःस्वार्थ भएर खटिने पत्रकार उपचारका लागि सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीसहितका पत्रकार संघ–संगठनहरूले धामीको उपचारार्थ सहयोगका लागि जिल्लाका पालिका सरकारसहित स्वदेश तथा विदेशमा रहेका आमनेपाली महानुभावहरूलाई सक्दो उपचार सहयोगका लागि अपिल गरेका छन् ।

