धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। आइतवार कैलालीको टीकापुर नगरपालिका–९ खक्रौला भन्सार चेकपोस्ट नजिकबाट लम्कीचुहा नगरपालिका–१ घुरवाका २२ वर्षीय कलम जैसी पक्राउ परेका छन्। जैसीको साथबाट २ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
उनलाई प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। यस्तै आइतवार साँझ भारतबाट नेपाल तर्फ पैदल आइरहेका कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चांददेउका २१ वर्षीय पुर्णबहादुर चौधरीलाई प्रहरीले बेलौरी नगरपालिका–१० सडकघाटबाट पक्राउ गरेको छ।
चौधरीको साथबाट १ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

