कैलाली । बैतडीको सुर्नया गाउँपालिका घर भएका समाजसेवी युवा विनोद बहादुर विष्टले मतदाता परिचयपत्र बनाउनका लागि सुर्नयाबासीलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएका छन्। सुर्नया गाउँपालिका–२ ग्वाननी घर भई हाल रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका विष्टले आगामी निर्वाचनलाई लक्षित गर्दै गाउँ–सहरका नागरिकलाई नाम दर्ता केन्द्रसम्म सहज रूपमा पुग्न सहयोग गर्न निःशुल्क यातायात सेवा सञ्चालन गर्न लागेका हुन्।
विष्टका अनुसार मतदाता परिचयपत्र बनाउन बाँकी रहेका सुर्नयाबासीले यो सेवाबाट लाभ लिन सक्नेछन्। उनले भने, “नागरिक सहभागिता बढाउन र कसैलाई पनि मताधिकारबाट वञ्चित हुन नदिन यो पहल गरिएको हो।” उनका अनुसार सुर्नयाका आठै वडामा सम्पर्क व्यक्ति तोकिएका छन् र ती व्यक्तिहरूमार्फत सेवा सहज रूपमा सञ्चालन गरिनेछ। बस सेवा कार्तिक १७ गते बिहानदेखि सुर्नया गाउँपालिकाबाट सदरमुकाम गढीका लागि सञ्चालन हुने जनाइएको छ।
विष्टले आफ्नो जन्मदिनको अवसर (कार्तिक १०) पारेर यो प्रेरणादायी सामाजिक पहल ल्याएका हुन्। उनका अनुसार, गाउँका दुर्गम बस्तीका नागरिकहरूलाई आर्थिक अभाव र पहुँचको कठिनाइका कारण मतदाता परिचयपत्र बनाउन समस्या हुने भएकाले यो पहल गरिएको हो। गत वर्ष उनले सुर्नया गाउँपालिकाका सबै आठ वडामा र सतबाझको प्रहरी चौकी तथा स्वास्थ्य चौकीमा भित्ते घडी वितरण गरेर पनि सामाजिक कार्य गरेका थिए।

