धनगढी: खेतबाट भित्र्याएको एक महिनापछि कैलालीका किसानहरूले अन्ततः आफ्नो मेहनतको फल बिक्री गर्न थालेका छन्। बुधबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेसँगै किसानहरू बिक्रीका लागि विभिन्न खरिद केन्द्र (डिपो)मा पुग्न थालेका हुन्। यस वर्ष कम्पनीले कैलालीका छ ठाउँ— धनगढीको मोहनपुर, गौरीगङ्गा, जोशीपुर, भजनी, सती र टीकापुरमा डिपो स्थापना गरी खरिद सुरु गरेको छ। पहिलो चरणमा जिल्लाबाट ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको कम्पनीले जनाएको छ।
किसानहरूमा राहतको अनुभूति
खेतबाट धान काटेर घरमा राखेका किसानहरूले बजारमा उचित मूल्य नपाएपछि लामो समयदेखि बिक्रीमा ढिलाइ गरेका थिए। गल्ला व्यापारीहरूले प्रति क्विन्टल २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म मात्र मूल्य प्रस्ताव गरेपछि किसानहरू निराश बनेका थिए। “त्यो मूल्यमा त उत्पादन लागत समेत उठ्दैनथ्यो,” गोदावरी नगरपालिका–८ श्रीपुरका किसान मगतराम चौधरी भन्छन्, “सरकारी खरिद सुरु भएपछि अब लगानीको प्रतिफल पाउने आशा पलाएको छ।” उनले ढिलो भए पनि खाद्य कम्पनीले खरिद सुरु गरेपछि राहतको अनुभव भएको बताए।
ढिलो खरिदले समस्या
तर, ढिलो खरिदले धेरै किसानलाई समस्या पारेको छ। भण्डारणका लागि ठाउँ अभाव र मल–बिउको उधारो रकम तिर्नुपर्ने दबाबका कारण केही किसानहरूले बाध्यतावश गल्ला व्यापारीकहाँ सस्तोमा धान बेच्नुपरेको छ। “सरकारले समयमै खरिद सुरु गरेको भए घाटा बेहोर्नु पर्दैनथ्यो,” भजनीका किसान एटुराम डगौरको गुनासो छ। “ढिलो भए पनि सुरु गरेकोमा भने खुशी लागेको छ,” उनले थपे।
नेपाल सरकारले चालू आर्थिक वर्षका लागि गत साउन २६ गते नै धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो। सो अनुसार मोटा धानको मूल्य प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ। कैलालीको मोहनपुर डिपोका प्रमुख तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका वरिष्ठ सहायक मुकुन्दराज पनेरुका अनुसार यही दरमा धान खरिद भइरहेको छ। “एक किसानबाट अधिकतम ५० क्विन्टल धान खरिद गरिन्छ,” उनले बताए, “र रकम बैंक खातामार्फतै भुक्तानी गरिन्छ।” पनेरुले किसानहरूलाई धान राम्ररी सुकाएर र सफा गरी ल्याउन अनुरोध गरेका छन्।
गत वर्ष कैलालीमा ५५ हजार क्विन्टल धान खरिद कोटा निर्धारण भए पनि किसानहरूले पहिले नै व्यापारीकहाँ बिक्री गरिसकेकाले ३४ हजार क्विन्टल मात्र खरिद गर्न सकिएको थियो। तर यस वर्ष व्यापारीहरूले कम मूल्य प्रस्ताव गरेपछि किसानहरूले धान घरमै भण्डारण गरी खाद्य कम्पनीको खरिद सुरु हुने प्रतीक्षा गरेका थिए। हाल सबै खरिद केन्द्रमा किसानहरूको भीड बढ्दै गएको छ। धेरै किसानहरू बिहानैदेखि ट्र्याक्टर र ठेलामा बोकेर धान लिएर डिपोमा लाइन लागिरहेका छन्।
किसानहरूले आगामी वर्षहरूमा ढिलो नगरिकन समयमै खरिद प्रक्रिया सुरु गर्न सरकार र सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्। “यदि समयमै खरिद सुरु भयो भने किसानको भरोसा बढ्छ र घाटा बेहोर्नु पर्ने स्थिति आउँदैन,” गोदावरीकी किसान बिष्णुमाया चौधरीले भनिन्। धानको मुख्य सिजनमा बजारमा अस्थिर मूल्य, ढिलो खरिद र भण्डारणको समस्या झेल्दै आएका किसानहरू अहिले सरकारी खरिद सुरु भएपछि केही हदसम्म आशावादी बनेका छन्।

