कञ्चनपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) कञ्चनपुरको सिंगो कार्य समिति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित भएको छ। शनिबार महेन्द्रनगरमा आयोजित कार्यक्रमकाबिच राप्रपा नेपालको जिल्ला कार्य समिति राप्रपामा समाहित भएको हो। राप्रपाका युवा नेता करन पालले कमल थापा नेतृत्वको राप्रपा नेपालको जिल्ला कार्य समिति राप्रपा पार्टीमा समाहित भएको बताए। ‘कमल थापा नेतृत्वको राप्रपा नेपालको सिंगै जिल्ला कार्य समितिसहितका साथीहरू एकसाथ हाम्रो पार्टी राप्रपामा समाहित भएका छन्,’ उनले भने, ‘यो ऐतिहासिक कदम हो।’
राप्रपा युवा नेता पालका अनुसार राप्रपा नेपालका जिल्ला अध्यक्ष घनश्याम रावल, उपाध्यक्ष दिलबहादुर नाथ, कमल भट्ट, सचिव हरिहर पाण्डेय, कोषाध्यक्ष लालसिंह विष्ट, सदस्यहरू गणेशदेव जोशी, कृपानाथ योगी, बागमती धामी, किसान संगठन केन्द्रीय सदस्य दलबहादुर चन्द, युवक संगठन सचिव गोविन्द विष्ट, दिलबहादुर धामी सुप प्रदेश सदस्य, जिल्ला सदस्य राजेन्द्र विष्ट, महेन्द्रबहादुर विष्ट रहेका छन्। पूर्वसशस्त्र प्रहरी बलका एसपी हर्कबहादुर विष्टले समेत राप्रपा प्रवेश गरेका छन्।

