धनगढी: धनगढी क्षेत्रमा पछिल्लो समय तस्करीको गतिविधि तीव्र बन्दै गएको छ। सशस्त्र प्रहरीले बारम्बार निगरानी गरे पनि तस्करहरूको हौसला घट्ने लक्षण देखिएको छैन। त्यही क्रममा धनगढी उपमहानगरपालिका–८ की हस्मिता चौधरी लगातार तस्करीमा संलग्न रहँदै आइएकी रहेकी थिइन्। श्रोतका अनुसार चौधरीले त्रिवेणी घाट हुँदै दैनिक २० लाखसम्मको समान भारतबाट नेपाल भित्र्याउने गर्थिन्। गत एक सातामा मात्रै तीन पटक उनलाई सम्बन्धित सामानसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।
तीन पटक बरामद, अन्ततः पक्राउ
असोज २२ गते भारतबाट नेपाल ल्याइरहेको करिब रु २ लाख ४८ हजार ३०० बराबरको कपडा, कस्मेटिक र दिपावलीका मालाहरू सशस्त्र प्रहरीले बरामद गरेको थियो। तर, सो बेला हस्मिता भाग्न सफल भइन्। त्यसपछि असोज २४ गते पुनः उनले ल्याउन खोजेको करिब रु ९ लाख ६ हजार २०० बराबरको मोबाइल पार्ट्स समेत सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको थियो। यद्यपि दुबै घटनामा उनी पक्राउ पर्न असफल भइन्। अन्ततः असोज २८ गते, तेस्रो पटक उनले ल्याउन खोजेको करिब रु २ लाख १३ हजार ६ सय बराबरको इलेक्ट्रोनिक सामग्रीसहित सशस्त्र प्रहरीले उनलाई पक्राउ गर्न सफल भयो। सशस्त्र प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरीमा बुझाएको थियो। तर, उनले केही दिनमै धरौटी बुझाएर रिहा भएकी छन्।
धरौटीपछि उल्टो आक्रमण
रिहा भएपछि चौधरीले आफूलाई फसाइएको दाबी गर्दै सशस्त्र प्रहरीमाथि सामाजिक सञ्जाल र केही मिडियामार्फत आरोप लगाउन थालेकी छिन्। उनले आफूले “थोरै सामान ल्याउँदा पनि बढी मूल्यांकन गरेर फसाइएको” दाबी गरेकी छन्। तर, भन्सार स्रोतका अनुसार बरामद गरिएको सामानको मूल्यांकन तथ्यपरक र कानुनी प्रक्रियाअनुसार गरिएको हो। “उनीसहित दुई जना पक्राउ परेकाले सामानको मूल्याङ्कन पनि त्यसअनुसार दोब्बर देखिएको हो,” भन्सार कार्यालयका एक अधिकारीले बताए।
मिडियामार्फत तस्करको बचाउ प्रयास
स्थानीय स्रोतका अनुसार चौधरीले सामाजिक सञ्जाल र केही मिडियाको प्रयोग गरेर आफूलाई निर्दोष देखाउने प्रयास गरेकी छिन्। मिडियाले तस्करीमा संलग्न व्यक्तिको पक्षमा भिडियो सार्वजनिक गरेको समेत देखिएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार, “तस्करी नियन्त्रणका क्रममा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने गरी केही व्यक्तिहरू मिडिया प्रयोग गर्न थालेका छन्, जुन दुर्भाग्यपूर्ण हो।”
तस्करी नियन्त्रणमा चुनौती
धनगढी क्षेत्र भारतसँगको खुला सीमाका कारण तस्करीका गतिविधि रोक्न कठिन रहेको बताइन्छ। सशस्त्र प्रहरीले पछिल्ला महिनामा मात्र करोडौं मूल्यका अबैध समान बरामद गरी भन्सार बुझाएको छ। तर, कानुनी कारबाही हल्का हुने र धरौटीमा सजिलै छुट्ने अवस्थाले तस्करको हौसला बढाएको स्थानीयहरूले बताएका छन्। सम्बन्धित निकायहरूले तस्करी नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने र सुरक्षाकर्मीको मनोबल गिराउने गतिविधि तत्काल रोक्नुपर्ने माग स्थानीयबासीले गरेका छन्।

