धनगढी । कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको सदस्य मनोनयन गरिएको छ । विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा। महावीर पुनको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा बसेको सभाको पहिलो बैठकले सात जना विज्ञलाई सभाको सदस्य मनोनयन गरेको हो ।
सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसमेत उपस्थित सो बैठकले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा। हेमराज पन्तलाई सभाको सदस्यमा मनोनयन गरेको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन, २०८२ परिच्छेद ४ को दफा ७ को उपदफा ९२० को खण्ड ९६० बमोजिम स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये सभाबाट मनोनित एक जनालाई सदस्य मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम बैठकले पन्तलाई सभा सदस्यमा मनोनयन गरेको हो ।
यसै गरी प्राध्यापक डा। जयराज अवस्थी ९दार्चुला०, प्राध्यापक डा। अम्मराज जोशी ९बझाङ०, प्राध्यापक डा। लवदेव अवस्थी ९बैतडी०, प्राध्यापक डा। सङ्गीता राजभण्डारी ९काठमाडौँ०, डा। डम्बरबहादुर पाल ९दार्चुला० र सहप्राध्यापक अनुराधा रोकाया ९कञ्चनपुर० लाई सभा सदस्य मनोनयन गरिएको छ । यस्तै ऐनको दफा २५ को उपदफा १ बमोजिम उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि बैठकले सिफारिस समिति पनि गठन गरेको छ । समितिको संयोजकमा डा। जयराज अवस्थी र सदस्यमा प्राध्यापक डा। दीपक महरा र प्राध्यापक डा। भारती जोशी सदस्य रहनुभएको छ । कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चालु आर्थिक वर्षबाट सञ्चालन गर्ने सङ्घीय सरकारको प्रयास छ ।

