धनगढी: हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हमासलाई उद्धृत गर्दै जनाएको अनुसार, सोमबार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको शव पनि रहेको छ । हमासले बन्धक बनाएका २० जना जीवित इजरायली नागरिकलाई सोमबार अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । सो क्रममा चार जनाको शव पनि फिर्ता गरिएको बताइएको छ, जसमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलका २२ वर्षीय विपिन जोशी समेत थिए ।
दुई वर्षअघि अध्यायनका लागि इजरायल पुगेका जोशी कृषि क्षेत्रमा अध्ययनरत थिए । अध्ययनकै क्रममा गत वर्ष अक्टोबर महिनामा हमासको आक्रमणमा परेर हराएका उनी त्यसयता बन्धककै सूचीमा रहेका थिए । इजरायल पुगेको २५ दिनमै उनि सहित नेपाली बिद्याथीहरु आक्रमणमा परे । तर, लामो प्रतीक्षापछि सोमबार मात्र उनको मृत्यु भइसकेको पुष्टि भएको खबर आएको हो। विपिनको निधनको खबरले जोशी परिवार, आफन्तजन तथा उनका साथीहरूलाई गहिरो शोकमा डुबाएको छ । परिवारका सदस्यहरूले अहिले समेत घटनाको वास्तविकता बुझ्न कठिन भएको बताएका छन् । हमासको आक्रमण पछि बकंर भित्र लुकेपनि बिद्यार्थीहरु शुरक्षित हुन सकेनन् । बिद्रोहीले बकंरमै ग्रेनाइट हानेपछि केही आफु घाइते भएको बताउनुहुँदै कैलालीका धन बहादुर चौधरी सो बेला एउटा ग्रेनाइट बिपिनले बाहिर फालेको सम्झिन्छन् । साथीहरुका अनुसार त्यो बेलासम्म बिपिन जिबितै थिए ।
इजरायलमा विपिन सँगै अध्ययनरत कैलाली टिकापुरका चौधरीका अनुसार विपिन असाध्यै सरल, मिलनसार र सहयोगी स्वभावका व्यक्ति थिए । उनी सधैं सबैको सहयोग गर्थे, कठिन समयमा पनि मुस्कान हराउँदैनथे चौधरीले सम्झिँनुभयो । साथीहरूका अनुसार विपिन समाजसेवी गतिविधिहरूमा पनि सक्रिय थिए । उनी सधैं साथीहरूको सुख–दुःखमा साथ दिने, हास्य–व्यङ्ग्य मन पराउने र सबैको हौसला बढाउने स्वभावका कारण सबैको मन जित्न सफल थिए ।
बिपिनका साथी दार्चुलाको महाकाली नगरपालिका–८ मा जन्मेका हेमराजले पढाइमा समेत सहकार्य रहेको बताए । । कसैलाई कुनै विषय गाह्रो लाग्यो भने सँगै बसेर पढ्थे । परीक्षाको समयमा चारैजना जम्मा भएर प्रश्नहरूबारे छलफल गर्थे । हेमराजले भने, ‘परीक्षा दिने समयका हाम्रा सम्झना त झन् अविस्मरणीय छन् ।’ दुःख र संघर्षका ती दिनमा उनीहरूको मित्रता झनै बलियो हुँदै गयो । हेमराजको नजरमा विपिन एक विद्यार्थीमात्र थिएनन्, उनीभित्र अनेक प्रतिभा लुकेका थिए । विपिनमा सिक्ने भोक थियो । उनी जे कुरामा पनि जिज्ञासु रहन्थे र त्यसलाई गहिराइसम्म पुगेर बुझ्न खोज्थे । आफ्नो लक्ष्यप्रति विपिन एकदमै दृढ रहेको हेमराज सुनाउँछन् । हेमराजका अनुसार उनले जे कुरामा हात हाल्थे, त्यसलाई पूरा नगरी छाड्दैनथे ।
कलेजमा विपिनको कोही शत्रु थिएन । उनी सबैसँग बोल्ने, हाँस्ने र घुलमिल हुने स्वभावका थिए । अरुलाई सल्लाह र सुझाव दिन पनि उनी पछि पर्दैनथे । विपिन एक राम्रा फुटबल खेलाडी थिए । ‘दुई–चार वटा खेल त उसले आफ्नो उत्कृष्ट प्रदर्शनले हामीलाई जिताइदिएको थियो,’ हेमराजले सुनाए ।
उनको निधनको खबर फैलिएसँगै सामाजिक सञ्जालभर श्रद्धाञ्जलीका सन्देशहरू भरिएका छन्। धेरैले जोशीको असामयिक निधनले नेपाली विद्यार्थी समुदायमा गहिरो पीडा र रिक्तता सिर्जना गरेको प्रतिक्रिया दिएका छन् । साथीहरु भक्कानिएका छन् । भने सुदुरपश्चिम सगैं सिगों नेपालीले शोक ब्यक्त गरेका छन् ।

