धनगढी: भारतीय बजारबाट नेपालमा तस्करी हुँदै आएको छ। खुला सिमानाका भएको सुदूरपश्चिमको कैलाली जिल्लामा विशेषगरि रातिको समयमा तस्करी हुने गरेको पाइएको छ। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको कमजोरी र मिलेमतोका कारण बेलाबेला सुरक्षा निकाय पनि विवादमा आउने गरेको छ। यसैक्रममा हाल धनगढीको भन्सार क्षेत्रबाटै राति चिनी लगायत अन्य सामग्री तस्करी हुन थालेको गुनासो गरिएको छ।
सोही क्रममा आज मंगलबारमात्रै सीमावर्ती बजार बनगाउँबाट चिनी ल्याएकी एक महिलालाई सशस्त्र प्रहरीले रोकेपछि विवाद उत्पन्न भएको छ। भन्सार कार्यालय धनगढी नजिकैको सशस्त्र प्रहरी चेकपोस्टमा २५ किलोग्राम चिनी ल्याएकी महिलालाई सशस्त्र प्रहरीले रोकेको हो। घरायसी प्रयोजनका लागि ल्याएको चिनी बरामद गरिएको भन्दै ती महिलाले सडकमै सुतेर अनसन सुरु गरेकी छन्।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म त्रिनगर, कैलालीका डीएसपी धिरेन्द्र शाहका अनुसार, चिनी बरामद गरी चेकपोस्टमा ल्याइएपछि महिलालाई अबदेखि यस्तो सामान नल्याउन चेतावनी दिइएको थियो। तर ती महिलाले चिनी बुझ्न नमानेको बताइएको छ। स्थानीयवासीले भने घरायसी प्रयोजनका सामानमाथि नियन्त्रण कडाइ गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा राति ठूलो मात्रामा हुने तस्करी रोक्न नसक्ने सशस्त्र प्रहरीले सामान्य परिमाणको चिनीमाथि कारबाही गर्नु दोहोरो मापदण्ड हो।

