धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेका कैलालीका विभिन्न स्थानीय तहमा पुगेर भौतिक संरचनाहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। आइतबार मुख्यमन्त्री शाहले गोदावरी, गौरिगंगा र घोडाघोडी नगरपालिकामा पुगेका थिए। आन्दोलनका क्रममा गोदावरी नगरपालिकामा करिब ९ करोड ५४ लाख रुपैयाँ, गौरिगंगामा ७ करोड १२ लाख रुपैयाँ र घोडाघोडी नगरपालिकामा करिब ८ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको तथ्यांक प्रस्तुत गरिएको छ। यसअघि आन्दोलनबाट प्रदेशका विभिन्न स्थानमा रहेका २९ वटा कार्यालय ध्वस्त भएका थिए।
अनुगमनका क्रममा मुख्यमन्त्री शाहले विपरीत परिस्थितिबाट नआत्तिन आग्रह गर्दै एकजुट भई सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “विषम परिस्थितिमा पनि जनतालाई सेवा प्रवाह निरन्तर गर्नैपर्छ। पालिकाहरुले जुन ढंगले सेवा दिइरहनुभएको छ, त्यसका लागि धन्यवाद।” मुख्यमन्त्री शाहले भौतिक संरचना पुनर्निर्माणका लागि मितव्ययी नीति अवलम्बन गरिएको उल्लेख गर्दै दश लाखभन्दा साना आयोजना कटौती, बैठक भत्ता, छपाइ तथा गोष्ठीमा हुने खर्च कटौती गरेर प्रदेशलाई आर्थिक दृष्टिले सन्तुलित बनाउन कदम चालिएको जानकारी दिनुभयो।
यसैबीच मुख्यमन्त्री शाहले लम्कीचुहा–७ हरैयापुरस्थित दुर्गा वोहराले सञ्चालन गर्दै आएको पोल्ट्री फर्मको समेत अनुगमन गर्नुभयो। विद्युत आपूर्ति कम हुँदा गत राती फर्मका करिब १२ हजार कुखुरा मरेका थिए, जसबाट करौडौँ रुपैयाँको क्षति भएको बताइएको छ। सो घटनापछि मुख्यमन्त्री शाहले नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई विद्युत आपूर्ति प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ।
अनुगमनका क्रममा मुख्यमन्त्री शाहसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा पनि सहभागी हुनु भएको थियो।

