धनगढी । काम गर्ने क्रममा अशक्त भएका ट्याङकर चालक कमल राज भट्टलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ट्याङकर ईकाई कमिटी धनगढीद्वारा आर्थिक सहयोग गरिएको छ । संगठनका सदस्य समेत रहेका भट्टलाई समिति र सदस्यहरूले संकलन गरेको रकम सहित एकमुष्ट गरी कुल रु २१ हजार सहयोग प्रदान गरिएको हो । सहयोग रकम बुधबार धनगढीस्थित संगठनको कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, ट्याङकर ईकाई कमिटी धनगढीका अध्यक्ष पुस्कर गुरुङ लगायत पदाधिकारीहरूले भट्टलाई सहयोग रकम हस्तान्तरण गरेका थिए । यस अवसरमा अध्यक्ष चन्दले संगठन आफ्ना मजदुरहरूका सुख–दुःखमा सधैंसँगै रहने प्रतिबद्धता व्यक्त गर्दै अशक्त भएकालाई सहयोग गर्नु संगठनको दायित्व भएको बताए । उनले काम गर्न नसक्ने अवस्थामा पुगेका मजदुरलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने आश्वासन दिए ।
ट्याङकर ईकाई कमिटी धनगढीले विगतदेखि नै काम गर्ने क्रममा दुर्घटनाग्रस्त वा अशक्त बनेका आफ्ना चालक तथा मजदुरहरूलाई सहयोग गर्दै आएको छ । यसपटक दशैंको अवसर पारेर भट्टलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।

