महेन्द्रनगर: कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा चाडपर्वलाई लक्षित गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार ७ नम्बर पिल्लर नजिक सहायता कक्ष सुरु गरेको हो । भारतबाट स्वदेश फर्किने नागरिकको सुरक्षा र सुविधाका लागि प्रमुख जिल्ला अधिकाी लक्ष्मण ढकाल, प्रदेश प्रहरी प्रमुख डम्मर बहादुर बिकलगायतको उपस्थितिमा सहायता कक्ष उद्घाटन गरिएको हो ।
दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै नाकामा हुने चोरी, लुटपाट र दुर्घटना नियन्त्रणका लागि सडक सुरक्षा गस्ती पनि सुरु गरिएको प्रहरीको भनाइ छ । हाल रोजगारीका लागि भारत गएका हजारौँ नेपाली चाडपर्व मनाउन स्वदेश फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ ।

