बैतडी — बैतडीको सुर्नया गाउँपालिका –५ नौघरकी १७ वर्षीया अप्सरा चन्द गत बुधबार बिहान सुर्नया नदी किनारमा मृत भेटिइन् । उनी गाउँकै रोलेश्वर माध्यमिक विद्यालय रामकीबराइलमा कक्षा १२ मा अध्ययनरत थिइन् । बिहान नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी घटनास्थलमा पुग्दा शव स्थानीय अप्सरा चन्दको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
रोजगारीका सिलसिलमा भारत रहेका अप्सराका बुबा घटना थाहा पाएपछि घर आएका छन् । जिल्ला अस्पताल बैतडीमा शव पोस्टमार्टम गरी दाहसंस्कार गरिसकेको अप्सराका ठूलाबुबा वीरबहादुर चन्दले बताए । दुई भाइबहिनीमा अप्सरा जेठी हुन् । उनका कान्छा भाइ छन् । अप्सराले आत्महत्या नभई आत्महत्या गर्न बाध्य बनाएको पीडित परिवार र आफन्तले आशंका गरेका छन् ।अप्सराको फोटोसँगै स्थानीय युवकको फोटो जोडेर केही दिनअघि फेसबुक आईडी बनाइएको र त्यसकै कारण आत्महत्या गरेको हुन सक्ने परिवार बताउँछन् । उनीहरुले भरत विकका नाममा आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
घटना कसरी भयो ?
केही दिनअघि ‘अप्सरा भरत विश्वकर्मा’ नामको फेसबुक आइडी बनाइयो । दुवैको तस्बिर सम्पादन गरी प्रोफाइल तस्बिर नै राखिएपछि अप्सराका साथीहरुबीच सनसनी चल्यो । यही आईडीबाट पोष्ट गरेर धेरै जनालाई ट्याग गर्ने गरेकाले पनि धेरैले यो कुरा थाहा पाए । विद्यालय प्रशासनसम्म पनि खबर पुग्यो । अप्सराका जेठाबुबा वीरबहादुर पनि अप्सरा पढ्ने विद्यालयका शिक्षक हुन् । भरत र अप्सरा सँगै पढ्ने साथी हुन् । भदौ ३१ गते विद्यालय प्रशासनले दुवैलाई सोधपुछ गरेको वीरबहादुरले बताए ।
सोधपुछका क्रममा भरतले आफूले आईडी नबनाई अरुले नै फेक आईडी बनाएको र अप्सरा र आफूबीच कुनै त्यस्तो सम्बन्ध नरहेको विद्यालयलाई प्रशासनलाई बताएका थिए । अप्सराले पनि दुईबीच केही सम्बन्ध नरहेको बताएकी थिइन् । सोही दिन राति घरबाट निस्किएर अप्सराले सुर्नया नदीमा हाम फालेको हुन सक्ने उनका जेठाबुबाको आशंका छ । ‘घरमा उनको कुनै फरक स्वभाव थिएन, ठिकै थिइन्, राति कतिखेर घरबाट निस्किएर गइछन् थाहा भएन,’ उनले भने, बिहान स्थानीयहरुले नदीमा मृत अवस्थामा देखेपछि मात्रै हामीले थाहा पायौं ।’ अप्सराको मोबाइल नदीमै भेटिएको छ ।
मृत्युको कारण त्यही फेसबुक आईडी नै भएकाले छानबिन गर्न जाहेरी दिएको वीरबहादुरको भनाइ छ । ‘भाइबुहारी विक्षिप्त भएका कारण छानबिनका लागि जाहेरी दिएको हुँ,’ उनले भने, ‘निर्दोष नफसोस्, दोषीलाई कार्बाही होस् ।’ भरतलाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिरहेको बैतडी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।कान्तिपुरबाट


