धनगढी: संविधान दिवसको अवसरमा कैलाली जिल्लामा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त शक्ति प्रदर्शन गरेका छन्। दुई दलले सयुक्त रुपमा संविधानको रक्षा र लोकतन्त्रको मजबुतीका लागि भन्दै जिल्लाका १३ वटै स्थानीय तहमा एकैसाथ बृहत मोटरसाइकल र्याली गरेको जनाएको छ। कांग्रेसका जिल्ला कार्यवाहक अध्यक्ष खेम डगौरा चौधरीका अनुसार चौमाला र अत्तरिया हुँदै आएको र्याली धनगढी चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो।
त्यस्तै नेकपा एमालेले पनि संविधान दिवसकै अवसर पारेर टीकापुरबाट सुरु गरेको मोटरसाइकल र्यालीलाई लम्कीमा कोणसभामा परिणत गरेको छ। एमाले कैलालीका जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गानाले संविधानको सम्मान र देशको समृद्धि एमालेको नेतृत्वमै सम्भव हुने दाबी गर्दै र्यालीलाई पार्टी सुदृढीकरणमा टेवा पुग्ने बताए।
अध्यक्ष यज्ञराज ढुङ्गानाले पछिल्लो समय राजनीतिक दलहरूमाथि भइरहेको निरन्तर प्रहारका विरुद्ध र लोकतन्त्रको संस्थागत विकासका लागि पार्टी नै उपयुक्त विकल्प भएको कारण र्याली आयोजना गरिएको स्पष्ट पारे। संविधान दिवसकै दिन दुई प्रमुख दलले र्याली गरेर कैलालीमा शक्ति प्रदर्शन गरेसँगै जिल्लाको राजनीतिक वातावरण थप चहलपहलपूर्ण बनेको देखिएको छ।

