धनगढी: संविधान दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले विशेष कार्यक्रम आयोजना गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानले मार्गचित्र प्रदान गरेको स्मरण गराए।
मुख्यमन्त्रीले लोकतन्त्र प्राप्ति र संविधान निर्माणमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार, बेपत्ता र घाइते योद्धाप्रति उच्च सम्मान व्यक्त गरे। साथै, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा प्राण गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे। उक्त प्रदर्शनमा घाइते भएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले युवाले उठाएका भ्रष्टाचारमुक्त शासन, समान अवसर, पारदर्शिता र जवाफदेहिताका माग संविधानकै मूल मर्मसँग सम्बन्धित रहेको स्पष्ट पारे।

“संविधान केवल कागजी दस्तावेज नभई यसको प्रभावकारी कार्यान्वयनबाटै समृद्ध नेपाल निर्माण सम्भव छ,” मुख्यमन्त्रीले भने, “युवा पुस्ताको मागअनुसार सुशासन, चुस्त सेवा प्रवाह र समान अवसर सुनिश्चित गर्न हामी थप गम्भीरताका साथ क्रियाशील हुनुपर्छ।” उनले हालैका घटनाबाट भएको जनधनको क्षतिले सबै नेपालीलाई पीडित बनाएको उल्लेख गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सुशासन र समृद्धिको यात्रालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। संविधानले दिएको अधिकारसँगै जिम्मेवारी पनि समान रूपमा बहन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा संविधान दिवसले नेपाली समाजलाई एकताबद्ध बनाउने, ऐक्यबद्धताका साथ कठिन परिस्थिति पार गर्दै समृद्ध नेपालको सपना साकार गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रममा प्रदेशसभाका सभामुख भिम भण्डारीले जेनजी आन्दोलनबाट नेतृत्वले धेरै पाठ लिनुपर्ने बताउँदै संघीयतालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । प्रदेश प्रमुख नाजिर मियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टको विशेष उपस्थितिसमेत रहेको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले स्वागत मन्तव्य राखेका थिए ।

