धनगढी: देशमा बढ्दो भ्रष्टाचार बेथितिका बिरुद्ध काठमाण्डौँ लगायतका क्षेत्रमा भएको आन्दोलनका कारण सुदूरपश्चिमका सात युवाले प्राण त्याग गरेका छन् । यसरी ज्यान गुमाउनेहरूमा ६ जना आन्दोलनकारी र एक जना प्रहरी छन् । उनीहरूको निधनपछि सात परिवारको आशाको दियो सधैँका लागि निभेको छ । भ्रस्टाचार बिरुद्ध जेनजी उमेरका युवाहरुले भदौ २३ र २४ गते देशैभरी आन्दोलन चर्काएका थिए । सो आन्दोलनमा परी सुदूरपश्चिमका सात युवाले ज्यान गुमाएका छन् । एकजना प्रहरी सहित सुदूरपश्चिमका ७ युवाले जेनजी आन्दोलनमा ज्यान गुमाएका हुन् । आन्दोलनमा परी बझाङको दुर्गाथली गाउँपालिका–१ का ३० बर्षिय भीम बहादुर धामी, बझाङकै खप्तड छान्ना गाउँपालिकाका २३ बर्षिय सुवास बोहरा, बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिका–२, कोल्टीका २३ बर्षिय अनोज बुढा ले ज्यान गुमाए ।
यस्तै कैलालीको धनगढीका २६ बर्षिय गौरव जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका मुकेश अवस्थी, बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक साउद र नेपाल प्रहरीमा कार्यरत दार्चुलाका उत्तम थापाले ज्यान गुमाए । आन्दोलनमा सुदूरपश्चिमका हजारौँ युवा सक्रिय सहभागी थिए । तीमध्ये कैयौँ घाइते भएका छन्, जो काठमाडौँका विभिन्न अस्पतालका बेडमा छटपटाइरहेका छन् । यो आन्दोलनमा मात्रै होइन बिभिन्न परिवर्तनका आन्दोलनमा सुदूरपश्चिमका कयौँ योद्धाहरुले आहुति दिएको युवा अगुवा पदम बिक्रम सिहंले बताए । उनले सुदुरपश्चिमका युवाहरुले बलिदानी मात्रै दिने तर राज्यले त्याृ बलिदान अनुसारको बिकास दिन नसकेको बताए ।
नयाँ सरकार गठनसँगै चुनावको मिति घोषणा भइसकेको छ । यो चुनाव सरकार बनाउने प्रक्रियामात्र हुनेछैन, यो जेनजी आन्दोलनका सहिदहरूको बलिदानको सम्मान गर्ने अवसर पनि हुने नागरिकहरुको भनाई छ । लोकतन्त्र, गणतन्त्र लगायतका परिवर्तनका लागी सुदूरपश्चिमले कयौँ नागरिक गुमाएको छ । जेनजी आन्दोलनका क्रममा मात्रै नभई बिभिन्न आन्दोलनमा सुदूरपश्चिमले धेरै नागरिक गुमाएपनि यहाँको योगदान नेतृत्वले बिर्षिने परम्परा कायमै रहेको इन्सेक सुदूरपश्चिम सयोंजक खडक जोशी बताउछन् । हरेक परिवर्तनका लागी सुदूरपश्चिमले गरेको योगदान अनुसार लगानी आवश्यक रहेको उनले बताए
दशरथ चन्द, बिभदत्त पन्त, बाकाबिर लगायत आहुती दिएका सहिदहरु सुदूरपश्चिमकै थिए । देशमा आमुल परिवर्तनका लागी उहाँ जस्ता सुदूरपश्चिमका थुप्रै ब्यक्तीहरुले ज्यानको आहुती दिइसकेका छन् । तर उहाँहरुको बलिदान अनुसार राजनितिक नेतृत्वले सुदूरपश्चिमलाई बिकास र सम्बृद्धीमा सगंसगैं लैजाने गरी अँझै न्याय दिन सकेका छैनन् ।

