धनगढी: जेन्जी आन्दोलनमा घुसपैठ भएको पाइएको छ । कैलाली जिल्लामा कतै आफ्नै नेताका घर जलाउन कार्यक्रता देखिएका छन् भने कतै बिपक्षीका पार्टी कार्यालय निशाना बनेको पाइएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टको अत्तरिया स्थित निवासमा आगजनी गर्न उनकै पार्टी कार्यक्रता समेत रहेको खुलेको छ । उनका भाईै गोकर्ण भट्टका अनुसार घर जलाउन एमाले र राप्रपाका नेता तथा एक जना सरकारी कर्मचारी समेत पुगेका थिए ।
नेता भट्टको घरमा लुटपाट तथा आगजनीमा नेकपा एमाले कैलाली जिल्ला लेखा समितिका सदस्य बालकृष्ण भट्टराई, राप्रपाका स्थानीय नेता दुर्गा पोखरेल र कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका हलुका सवारी चालक बामदेव अवस्थी रहेको कुरा पहिचान गरिसकेको भाई गोकर्ण भट्टले बताए । उनले भने, स्थानीय युवा रोहन बिष्टले भिडियो बनाउँदै लुटपाट र आगजनी गरेको देखिएको छ। यो समूहले नै गोदावरीका मेयर वीरेन्द्र भट्टको घरमा पनि लुटपाट र आगजनी गरेको हो। भट्टले आफ्ना दाजुको दुई वटा घर, ट्याक्टर, अनाज र लत्ताकपडामा आगजनी गरिएको बताए। उनले घरमा आगजनी गर्नुभन्दा अगाडि लुटपाट गरिएको बताएका छन्। उनले भाउजूको २२ तोला सुनको गरगहना, तीन लाख नगद र अन्य जिन्सी मालसमानसहित पाँच करोडभन्दा बढीको क्षति भएको बताएका छन्।
यता नेकपा एमाले कैलालीको पार्टी कार्यालय आगजनी गर्न नेपाली काग्रेंसका केन्द्रिय सदस्य नृप वडका छोरा निखिल ओड अग्रपक्तींमा छन् । भिडियोमा नेता वडका छोरा निखिललाई एमाले पार्टी कार्यालय भित्र प्रवेश गरेर भाटा प्रयोग गरि कुर्सी भाचिरहेको देख्न सकिन्छ।
उता कञ्चनपुरमा तरुण दलका नेताको अगुवाइमा आगजनी र तोडफोड भएको पाइएको छ। दोधारा चाँदनकी नगरपालिकाको तरुण दलको सभापतिसमेत रहेका सन्दिप बस्नेतको आगजनी र तोडफोडमा अग्रसरता रहेको पुष्टि भएको हो। बस्नेत आफैंले महेन्द्रनगरमा नेकपा एमालेका नेताहरूको घरमा आगजनी र तोडफोड गरेको सार्वजनिक रुपमा स्वीकार गरेको भिडियो अहिले भाइरल भएको छ। टिकटकमा राखिएको २२ सेकेन्डको भिडियोमा काँग्रेस नेता बस्नेतले नेपाली काँग्रेसको पार्टी कार्यालय, एमालेको पार्टी कार्यालय, मेयर पदम बोगटीको घर, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको घर, प्रदेश सभा सदस्य प्रकाश रावलको घर तथा पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको घर ध्वस्त पारेको बताएका छन्। उनले नेताहरूको घर छानीछानी खोज्ने अभिव्यक्ति दिएको भिडियोमा सुन्न सकिन्छ।
कञ्चनपुर प्रहरीले पनि बस्नेतले बोलेको भिडियो प्राप्त भएको जनाएको छ। यि बाहेक थुप्रै राजनितिक तथा ब्यवसायिक पृसठभुमिका ब्यक्तीहरु आन्दोलनमा सहभागी भएको पाइएको छ । उनिहरुले आगजनी गर्नुका साथै युवाहरुलाई उक्साएका भिडियोहरु भाइरल बनिरहेका छन् ।

